कांग्रेसमा नयाँ नेतृत्वका लागि दौड शुरु

काठमाडौं, भदौ २५ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल ५ दिनसम्म गृहजिल्लामा कार्यक्रम गरेर शुक्रबार राजधानी फर्के । महामन्त्री शशांक कोइराला तीन दिनदेखि प्रदेश ५ मा केन्द्रित छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंह शनिबारदेखि कर्णाली प्रदेशमा दौडधुप गरिरहेका छन् ।

 

अर्का पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला गृहजिल्लाबाट फर्केलगत्तै आइतबार बर्दियातर्फ हानिएका छन् । नेता शेखर कोइराला सातादेखि जिल्लातिरै छन् । प्रायः राजधानीबाहिरै रहने उनी आइतबार सर्लाहीको कार्यक्रममा थिए ।

 

समयमै भए कांग्रेसको १४औं महाधिवेशन आउन अझै डेढ वर्ष बाँकी छ । तर विधानले केन्द्रीय कार्यसमितिलाई एक वर्ष अवधि बढाउने अधिकार दिएकाले तोकिएअनुसारै हुनेमा नेताहरू नै विश्वस्त छैनन् । कार्यसमितिमा सभापति शेरबहादुर देउवाको स्पष्ट बहुमत छ । अहिलेसम्मका सभापतिले एक वर्ष थपेरै महाधिवेशन गरेका छन् ।

याे पनि पढ्नुस  राजावादी र कांग्रेसबीच साँठगाँठ, भारतबाट गम्भीर खतरा– चित्रबहादुर केसी

 

आफ्नो अलोकप्रियताको ग्राफ बढिरहेका बेला देउवामा पनि थप समयअघि महाधिवेशन गराउने रुचि देखिँदैन । उनले महासमितिकै बैठक तीन महिना पछि धकेल्नुले यसलाई पुष्टि गर्छ । महाधिवेशनका लागि नेतृत्वको प्रतिस्पर्धा भने अहिल्यै सुरु भइसकेको छ । खासगरी संस्थापनइतर पक्षमा । संस्थापन पक्षमा देउवा नै निर्विकल्प छन् । तर अर्को पक्षमा पौडेल एक्ला छैनन् । जिल्ला दौडमा निस्केका सबै नेता १४ औं महाधिवेशनमा आ–आफ्ना लागि महोल बनाउने योजनामा छन् ।

 

उनीहरूबीच अहिले कसैले नेतृत्वको दाबी नगर्ने अनौपचारिक समझदारी बने पनि व्यवहार त्यस्तो छैन । महामन्त्री शशांक र नेता शेखरबीच को सभापति उम्मेदवार बन्ने भन्ने प्रतिस्पर्धा छ । शेखर संसदीय निर्वाचन हारेपछि निरन्तर जिल्ला दौडाहामा छन् । पछिल्लो पटक शशांक पनि जिल्ला दौडाहामा निस्कन थालेका छन् । केही समयअघि विराटनगरस्थित कोइराला निवासबाट दाजुभाइमध्ये एक सभापति उम्मेदवार हुने अभिव्यक्ति शशांकले दिएका थिए ।

याे पनि पढ्नुस  कांग्रेसमा छलफलबिनै एजेन्डा पारित !

 

संस्थापन पक्षबाट ७३ वर्षीय देउवा फेरि उम्मेदवार बन्ने तयारी गरेपछि पौडेल पनि अवकाश नलिने पक्षमा छन् । पौडेल देउवाभन्दा एक वर्ष मात्र जेठा हुन् । देउवा र पौडेलपछिको दोस्रो पुस्ता पनि ६० देखि ७० को हाराहारीमा छ । उमेरका हिसाबले अरू प्रतिस्पर्धीको तुलनामा शशांक र प्रकाशमानलाई केही सुविधा छ । शशांक ६० र सिंह ६३ वर्षका छन् । तर, सिटौला ६९ र शेखर ६८ वर्ष पुगिसकेका छन् । ‘दोस्रो पुस्तालाई पनि उमेरको दबाब छ,’ पौडेलनिकट एक केन्द्रीय सदस्यले भने, ‘त्यसैले पनि १४औं महाधिवेशनमै प्रतिस्पर्धा गर्नुपर्छ भनेर उहाँहरू (सिटौला, सिंह, शशांक र शेखर) लाग्नुभएको छ ।’

याे पनि पढ्नुस  कांग्रेसमा छलफलबिनै एजेन्डा पारित !

 

दोस्रो पुस्तामा एकले अर्कोलाई स्विकार्ने वातावरण अहिलेसम्म बन्न सकेको छैन । शशांक र पूर्वमहामन्त्री सिंहको सम्बन्ध न्यानो छैन । संसदीय दलको नेताको चुनावमा शशांकले आफूलाई नसघाएको गुनासो सिंहको छ । सिटौला र सिंहबीचको सम्बन्ध पनि उस्तै छ । यीबाहेक संस्थापनइतर पक्षमा रामशरण महत र अर्जुननरसिंह केसीको भूमिकाले पनि धेरै प्रभाव पार्छ । कान्तिपुरमा खबर छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!