फुजेलका कृष्ण अधिकारी हत्या प्रकरणमा १२ जनालार्इ सफार्इ

चितवन, भदौ २४ । द्वन्द्वकालमा चितवन रत्ननगरमा भएको गोरखाका कृष्ण अधिकारी हत्या प्रकरणमा आइतबार चितवन जिल्ला अदालतले फैसला सुनाएको छ । १३ प्रतिवादीमध्ये एकजना रूद्र आचार्य पक्राउ नपरेको हुँदा पछि ठहर्ने गरी अन्य १२ जनाले अदालतले सफाइ दिएको छ ।

२०६१ साल जेठ २४ मा गोरखाका कृष्ण अधिकारीको चितवन रत्ननगरमा रहेका आफ्ना हजुरबुवा र हजुरआमालाई भेट्न आएका बेला हत्या भएको थियो। हत्याको जिम्मा तत्कालीन विद्रोही माओवादीले लिएको थियो।

तर कृष्णका दाजु र बाबुले हत्याका बिरुद्ध चितवन जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। जाहेरी बिरुद्ध कुनै कारवाही भएको थिएन। कृष्णका बाबुआमाले अनशन सुरु गरेपछि २०७० साउनबाट चितवन प्रहरीले अनुसन्धान बढाएको थियो।

प्रहरीले अनुसन्धान पुरा गरे पनि मुद्दा चल्ने नचल्ने भन्ने विषयमा विवाद उठेको थियो। कृष्णका बाबु नन्दप्रसाद र आमा गंगामाया अधिकारीले अनशन जारी नै राखेपछि २०७० साल चैत्र ३० मा चितवन जिल्ला अदालतमा १३ जना बिरुद्ध मुद्दा दायर भएको थियो।

छोराका हत्यारालाई कारवाही नहुँदासम्म अनशन नतोड्ने अडानमा रहेका मृतक कृष्णका बाबु नन्दप्रसादको अनशनका क्रममा निधन भएको छ। आमा गंगामायाले भने केही महिना अघि अनशन तोडेकी थिइन्। अनशनका क्रममा निधन भएका कृष्णका नन्दप्रसादको अझै दाहसंस्कार भएको छैन।

सशस्त्र संघर्षका बेलामा भएको घटनाका विषयमा सत्य निरुपण तथा मेलमिलाप आयोगले निर्णय गर्नुपर्नेमा अदालतमा मुद्दा लगेको भन्दै माओवादी पक्षले आपत्ति जनाउँदै आएको छ। कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!