प्रचण्ड आज स्वदेश फर्किंदै

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड भारतकाे  चार दिने  भ्रमण पूरा गरी स्वदेश फर्किदै छन् । उनी अाज (आइतबार) दिउँसो सवाँ २ बजे एयर इन्डियाको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने कार्यकम रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

गएको बिहीबार (भदौ २१ मा) चार दिने भारत भ्रमण गएका प्रचण्डले नयाँ दिल्लीमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराज, कांग्रेस आइका नेता एवं पूर्वप्रधानमन्त्री मनमोहन सिंहलगायतसँग आपसी हित र सम्बन्धमा गम्भीर छलफल गरेका थिए ।

प्रचण्डको यो भ्रमण यसअघि प्रधानमन्त्रीस्तरमा भएका सहमति र सम्झौता कार्यान्वयका, नेपालमा धार्मिक पर्यटकीय सर्किट बनाउने विषयमा केन्द्रित रहेको थियो । नेपालमा पछिल्लो विकासक्रम एवं साझा समृद्धिका लागि भारत–नेपाल साझेदारी विषयमा भारतीय बुद्धिजीवीहरूलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाल र भारतका थुप्रै चुनौतीहरू रहेको र ती चुनौतीहरूसँग जुझ्न साझा पहल आवश्यक रहेको बताए ।

अध्यक्ष प्रचण्डले साना देशहरूको विशिष्ट संवेदनशीलता हुने र ठुला छिमेकीले त्यसलाई बुझिदिनु पर्ने बताए । साथै उनले ठुला छिमेकीले त्यसलार्इ सम्मान गर्नुपर्ने पिन बताए ।

प्रचण्डले दुई छिमेकीबीचको पारस्परिक सम्बन्ध अन्य दुई देशबिचको सम्बन्धभन्दा विशिष्ट हुने भन्दै एक–अर्काको सम्प्रभुता, भौगोलिक अक्षुणता र अन्तरिक मामिलामा हस्तक्षेप नगर्ने गर्नाले आपसी विश्वास र समझदारी झनै सुदृढ हुने विश्वास व्यक्त गरेका थिए ।

‘इण्डियन काउन्सिल फर वर्ल्ड अफेयर्स (आइसीडब्लुए) द्वारा आयोजना गरिएको ‘सप्रू हाउस लेक्चर’को ३१ औँ शृंखलामा ‘रिसेन्ट डिभेलपमेंट्स इन नेपाल एंड एड्भान्सिङ इण्डिया–नेपाल पार्टनरसीप फर शेयर्ड प्रोस्पेरिटी’ मा आधा घण्टा लामो सम्बोधनका क्रममा प्रचण्डले नेपालले सशस्त्र विद्रोहदेखि संविधान निर्माण सम्मको कठिन बाटो सफलतापूर्वक पार गरेको र वर्तमान संविधानसँग २ करोड ८० लाख नेपालीहरूको सपना गाँसिएको समेत उल्लेख गरे ।

प्रचण्डले उक्त ऐतिहासिक परिवर्तनमा भारत लगायत अन्य मित्र राष्ट्रहरूको साथ् रहेकोमा प्रसन्नता समेत प्रकट गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!