सभामुख महरा र तिब्बतका कम्युनिष्ट पार्टी सचिवबीच भेटवार्ता, यस्तो सहमति

ल्हासा, भदौ २३ । सभामुख कृष्णबहादुर महरा र चीनको तिब्बत स्वशासित प्रदेशका कम्युनिष्ट पार्टीका सचिव यु यिंग्जेबीच भेटवार्ता भएको छ । चीन भ्रमणमा रहेका सभामुख महरा ल्हासामा सचिव यु यिंग्जेबीच शिष्टाचार भेटवार्ता भएको हो ।

 

भेटका क्रममा सभामुख महराले नेपाल-चीन सम्बन्ध निकै पुरानो भएको बताउँदै तिब्बत र नेपालबीचको ऐतिहासिक, साँस्कृतिक, सामाजिक सम्बन्धले नेपाल–चीन सम्बन्ध थप सुदृढ भएको बताए ।

 

नेपालले लिएको विकास र समृद्धिको लक्ष्यमा चीन सरकारको तर्फबाट सहयोग गर्न आग्रह गरे । ‘नेपालको विकास र समृद्धिका लागि चीनको ठूलो सहयोग रहेको छ’ सभामुख महराले भने, ‘नेपालको विकास र सफलताले चीनलाई पनि सहयोग पुग्नेछ ।’

 

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै सभामुख महराले नेपालमा कुनै पनि चीनविरोधी गतिविधि नहुने बताए । नेपालमा लामो राजनीतिक संघर्षपछि शान्ति, स्थिरता र स्थायित्वतर्फ देश अघि बढिरहेको भन्दै सभामुख महराले नयाँ संविधान कार्यान्वयनको चरणमा रहेको बताए । आफूहरुले संघीय शासन प्रणालीको भर्खरै अभ्यास गरिरहेको भन्दै महराले संघीय पद्धति र प्रक्रियाको लामो अभ्यास गरिरहेको चीनबाट आफूहरुले धेरै कुरा सिक्ने बताए ।

 

भेटमा चीनको तिब्बत स्वायत प्रदेशका कम्युनिष्ट पार्टीकासचिव यु यिंग्जेले दुई देशबीचको सम्बन्धमा जोड दिदै विकास र समृद्धिको एजेण्डामा आफूहरुको सहयोग जारी रहने बताए । अहिले दुई देशबीच सम्झौता भएका निर्माणाधीन परियोजनाहरु कार्यान्वयनको तहमा रहेको भन्दै उनले आपसी सहयोग अझै बढाउनुपर्नेमा जोड दिए ।

 

नेपालले लिएको एक चीन नीतिको प्रशंसा गर्दै युले असल छिमेकीले निर्वाह गर्नुपर्ने भूमिका नेपालले पूरा गरिरहेकोा बताए । यसैबीच चौथो चीन तिब्बत पर्यटन तथा सांस्कृतिक प्रर्दशनीमा प्रमुख अतिथिका रुपमा चीन आएका सभामुख महरालाई स्वागत गर्न तिब्बत जनकांग्रेसका उपाध्यक्ष च्यू च्यनहवा ल्हासा विमानस्थल पुगेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!