बविना बस्नेतको कविता: बाँच्नेको कथा

मेरो देश भन्दा अलि पारि

बाँच्नुको कथा उस्तै छ ।

सुनाउनु छ आज अक्षरहरुसंग

लालीगुराँसको जस्तै बैश

उमेरका पत्रहरु सँगै थपिए भनेर

 

पिठ्युमा डोको आसी पटुकीमा बाँधेर

पिपलबोटको चौतारोमा

यौवन देख्नै नहुने फटाहा तन्नेरीहरुले

ठूली भइयौ तमीलाई गोढमा राख्न्याँ

चौतारो हाँसोको महोत्सव बन्यो

 

कतै नहेरी दौडन्छु घाँसहरु काट्न

फूलहरु नफुल्ने देशमा फुल्दै गरेकी किशोरी म

स्पर्श गर्यो एक झोक्का बतासले

मनै भक–भक उसनियो

भाग्य गतिलो लेखिनु पर्ने

 

त्यसो हुँदो रहेनछ मान्छे राम्री भएर

चित्कारहरु भिर पाखाले सुनोस

भगवानले फेरी भाग्य रेखाहरु बदलिदियोस

मेरो देशभन्दा अलिपारि

बाँच्नु को कथा उस्तै छ ।

 

झ्यालबाट घामहरु छिर्नु पूर्व ओछ्यानमा

एकाएक शरीर आलस्य र तातो बन्यो

मनभरी शङ्का  र डरका कम्पनहरु आए ।

ओल्लो पल्लो घरको दिदीआमाहरु

भोगेका ती दिन देखाउन लागे

मृत्यु जस्तै देखिने छाउगोठ

 

रात जाग्दै गयो

भित्ताको सेतो प्रकाश टुक्की सँगै निभ्यो

बाहिर झ्यालहरु हुँ हुँ गर्दै कराए

डरहरुले गन्ती गर्ने सीमा काटे

रातले दिदीको याद दिलायो

छाउगोठमै त्यागेकी अन्तिम सास

मरिने त्रास र जिउने सपनाहरुसँगै निदाएँ

मेरो देश भन्दा अलि पारि

 

बाँच्नुको कथा उस्तै छ ।

एक रातको छकाल व्युँझदा

चिसो बादलले पोखेको सीत

पोखिएको थियो पानी समान

फूलेको थियो रोटी जस्तै चिसोले जिउ

आमा बाबालाई वास्ता भएन

घाम उदाय छाउगोठ

 

निमेषमा पोत्यो मुखभरी

फेरि पश्चिम हुँदै ढल्यो गोठको भित्तातिर

मेरो रङहरु बदलिएनन्

आयो छाउगोठको कालो रात

मेरो देश भन्दा अलि पारि

बाँच्नुको कथा उस्तै छ ।

 

 

 

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!