राष्ट्रिय क्रिकेट टिममा डिसिएका २ खेलाडी थपिए

धनगढी क्रिकेट एकेडेमीले थप २ जना खेलाडी राष्ट्रिय क्रिकेट टिमलाई दिन सफल भएको छ ।

यही सेप्टेम्बर १२ देखि भारतको लखनउमा हुन गईरहेको भारत, अफ्गानिस्तान र नेपालबीचको यु १९ त्रिकोणात्मक खेलका लागि भारतले दिएको निमन्त्रणामा नेपालको टोली भारत प्रस्थान गर्न लागेको हो ।

जसमा धनगढी क्रिकेट एकेडेमीका विपिन रावल र लोकेश बमले आफ्नो ठाउँ बनाउन सफल भएका छन् ।

दुवै यस एकेडेमीका नियमित प्रशिक्षणरत खेलाडी हुन् । २०६९ सालमा स्थापित धनगढी क्रिकेट एकेडेमीमा हाल लग्भग १०० जना खेलाडी नियमित प्रशिक्षणमा रहेका छन् ।

क्रिकेट प्रशिक्षणका साथै यस् एकेडेमीले विभिन्न प्रतियोगिताहरुमा सहभागिता जनाउने, खेलाडीहरुलाई नेपाल, भारत तथा श्रिलंकाका विभिन्न स्थानमा लागि त्यहाँका विभिन्न क्लबहरुसँग खेलहरु खेलाउने र विभिन्न क्रिकेट प्रतियोगिताहरुको आयोजना समेत गर्दै आईरहेको छ ।

जसमध्ये धनगढी प्रिमियर लिग भाग १ र भाग २ दशकै ठूलाे र प्रतिष्ठित क्रिकेट प्रतियोगता हुन् । धनगढी क्रिकेट एकेडेमी निरन्तर क्रिकेट खेलाडी उत्पादनमा सफल भईरहेको छ ।

यसअघि यस एकेडेमीका रोशन अधिकारी, सुवोध ऐर र नारायण जोशी जस्ता खेलाडीहरु नेपालको यु १६ टिमबाट अन्तराष्ट्रिय प्रतियोगिता खेलीसकेका छन् भने विपिन रावल र लोकेश बम पहिलो पटक यु-१९ अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि स्थान बनाउन सफल भएका छन् ।

धनगढीलाई क्रिकेटको सहरको रुपमा चिनाउन सफल धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले नेपाली टिमलाई खेलकालागि शुभकामना व्यक्त गर्दै यस एकेडेमीका खेलाडी द्वय विपिन रावल र लोकेश बमलाई राम्रो प्रदर्शनको लागि शुभकामना व्यक्त गरे ।

अझैपनि उमेर समुहदेखि लिएर सिनियर नेपाली क्रिकेट टिममा स्थान बनाउनका लागि यहाँका खेलाडीहरुलाई हर तवरले सक्षम बनाउन आफुले हर सम्भव प्रयास गर्ने उनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!