एम्बाप्पेसहित २ खेलाडी निलम्बित

पेरिस । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का स्ट्राइकर केलियन एम्बाप्पे फ्रान्सेली घरेलु लिग वानको आगामी तीन खेलका लागि निलम्बित भएका छन् ।

 

खेलको क्रममा गलत व्यवहार गर्दै रातो कार्ड पाएका एम्बाप्पेलाई फ्रान्सेली लिग वानको अनुशासन समितिले कारबाहीस्वरूप निलम्बनको निर्णय गरेको हो ।गत साता फ्रान्सेली लिगअन्तर्गत भएको खेलमा पीएसजीले निमेसलाई ४-२ गोलअन्तरले पराजित गर्दा सशक्त प्रदर्शन गरेका एम्बाप्पेले सोही खेलको इन्जुरी समयमा रातो कार्ड पाएका थिए ।

 

निमेसका तेजी साभानिरले प्रहार गरेको ट्याकलपछि झगडामा उत्रिएका उनलाई रातो कार्ड देखाइएको थियो । एम्बाप्पेलाई खराब ट्याकल प्रहार गर्ने निमेसका जेतीलाई भने पाँच खेलको निलम्बन तोकिएको छ ।

 

१९ वर्षीय एम्बाप्पे फ्रान्सले गत जुलाईमा रुसमा भएको विश्वकपको उपाधि जित्दाका मुख्य खेलाडी थिए । निलम्बनको निर्णयसँगै एम्बाप्पेले सेप्टेम्बरको १४ तारिख हुने सेइन्ट इटिनी, सेप्टेम्बर २३ मा हुने रेन्नेस र सेप्टेम्बर २६ मा हुने रेइम्सविरुद्धको खेल गुमाउनेछन् । उनले यसबीचमा च्याम्पियन्स लिगअन्तर्गत लिभरपुलविरुद्ध हुने खेल भने खेल्नेछन् । अन्नपूर्ण पोष्टबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!