खाद्य बस्तुमा कुनैपनि हालतमा सम्झौता गरिन्न : मन्त्री खनाल

काठमाडौं, भदौ २१ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभर सबै सरोकारवाला निकायको सक्रिय सहभागितामा खाद्य स्वच्छता अभियान संचालन गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ ।

विहीबार मन्त्रालयमा आयोजना गरेको खाद्य सुरक्षा तथा गुणस्तर अभियान सम्बन्धी अन्तक्रियामा यस्तो जानकारी दिइएको हो । मन्त्रालयले भदौं अन्तिमदेखि शुरु हुने अभियानको पूर्व तयारी स्वरुप आज बिहीबार मातहतका निकाय र सरोकारवालासँग छलफल गरी सुझाव संकलन गरेको छ । जुन अभियान केन्द्रमा प्रधानमन्त्रीबाट र सातै प्रदेशमा प्रदेशका मुख्यमन्त्रीहरुबाट शुरु गर्ने मन्त्रालयको तयारी छ ।

पिउने पानी, प्रसोधित दूध तथा खाने तेलको स्वच्छता र गुणस्तरमा उल्लेख्य सुधार गरी आम उपभोक्ताको विश्वास अभिवृद्धि गर्ने उदेश्यले अभियान सञ्चालन गर्न लागएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मन्त्रालयमा आयोजना गरेको खाद्य सुरक्षा तथा गुणस्तर अभियान सम्बन्धी अन्तरकृयामा कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ भने, ‘खाद्य सुरक्षा तथा गुणस्तर अभियान हिजोको निरन्तरता होइन । खाद्य बस्तुमा कुनै पनि हालतमा सम्झौता गरिन्न । बरु जति सकिन्छ त्यति नै गरिन्छ ।’

खाद्यान्न, दुध, पानी जस्ता अत्यावश्यक बस्तुमा पनि सम्बन्धित निकाय जिम्मेवार नभए सरकार कठोर रुपमा प्रस्तुत हुने उनले चेतावनी दिए । ‘खाद्य सुरक्षा र गुणस्तर कायम नराख्ने निकायलाई सम्झाएर, बुझाएर, फकाएर पनि जिम्मेवार भएनन् भने कानूनको अन्तिम अस्त्र प्रयोग गरिन्छ,’ मन्त्री खनालले भने, ‘म अराजक ढंगले अघि बढौं भन्दैन । तर कानुनको पालना गर्दै त्यही अनुसार अघि बढौं । खाद्य स्वच्छता नीति र कानुन निर्माणको काम अघि बढेको छ ।’

अन्तक्रियामा उपभोक्ता अधिकारकर्मी ज्योती बाँनियाले सरकारले अघि सारेको अभियान प्राविधिक मात्र नहोस् भनेर सुझाए । ‘व्यवहारमा लागु होस् हामी साथ दिन तयार छौं । कार्पेट मुनिको विषय बस्तु जस्तो भएको थियो । अहिले कार्पेट माथि आएको छ,’ उनले भने, ‘खाद्य स्वच्छता नीति र ऐन विना अभियान सफल हुन्न । त्यसैले कानुन निर्माणको कामलाई प्राथमिकतामा राखियोस् ।’

कमेन्ट गर्नुहोस्

error: Content is protected !!