किर्ते गरी मालिकको ७० करोड सम्पत्तिमा आफ्नो बनाए कामदारले, २ सरकारी अधिकृतसहित १२ पक्राउ

काठमाडौं, भदौ २१ । १६ वर्षदेखि काम गर्दै आएका कर्मचारीले किर्ते कागजात खडा गरेर मालिकको ७० करोडको सम्पत्ति आफ्नो नाममा नामसारी गरेको खुलासा भएको छ ।

जुन सम्पत्ति नामसारी गर्न कम्पनी रजिष्टारको कार्यालयका ४ कर्मचारीले सहयोग गरेको पाइएको पनि केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

ब्यूरोले सो प्रकरणमा १६ वर्षदेखि शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिका मालिक राम निरंजन जटियामाको कम्पनीमा कार्यरत जितबहादुर मगरसहित १२ जनालाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

मगरसहित १२ व्यक्तिहरुले शंकर इलेक्ट्रिक इण्डष्ट्रिजको शेयरधनी, संचालक र कम्पनीको अध्यक्ष जितबहादुर मगर नै हो भन्दै ७० करोड बराबरको सम्पत्ति आफ्नो नाममा नामसारी गरेको बताइएको छ ।

कम्पनीको नाममा रहेको काठमाडौंको बालुवाटार स्थित कित्ता नं ४४१, ५०५ र ५४० को ३ रोपनी जग्गा सहितको घर, सतुंगल वडा नं ९ को कित्ता नं १२६ को १५ रोपनी जग्गा र म्याग्दी एवं नुवाकोट जिल्लामा । कम्पनीको नाममा रहेको जग्गा आफ्नो नाममा नामसारीपछि मगरसहितले वेचबिखन गर्न बैना गर्दै हिँडेको उजुरी ब्यूरोमा परेपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो ।

अनुसन्धानपछि कम्पनी रजिस्ट्रारको कार्यालयका ४ कर्मचारीको मिलेमतोमा जटियालाई थाहै नदिई सो सम्पत्ति मगरको नाममा नामसारी भएको खुल्न आएको थियो ।

पक्राउ पर्नेमा कम्पनी रजिष्ट्रारको कार्यालयमा सहायक रजिष्टार नारायणप्रसाद पोखरेल र उमेशमान जोशी साथै कार्यालयमै आईटी शाखामा करारमा कार्यरत २ जना रहेका छन् । साथै कम्पनी रजिष्टारको कार्यालयमा कार्यरत अन्य २ जना हाल फरार सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिएका छन् ।

पक्राउ पर्ने अन्यमा राजनप्रसाद लम्साल, निरजकुमार मानन्धर, जीतबहादुर मगर, पुण्यप्रसाद खरेल, साइला भन्ने राजकुमार तामाङ रहेका छन् । उनीहरुकै मुख्य योजनामा मगरको नाममा सम्पत्ति नामसारी भएको बताइएको छ । यस्तै कीर्ते कार्यमा सहयोगी भूमिका खेल्ने हिमाल महर्जन, चिरी बावु महर्जन, अमृत थापा मगरपनि पक्राउ परेका छन् ।

कम्पनीको एकमात्र शेयरधनी संचालक एवं अध्यक्ष रहेका भारतीय नागरिक जटियाको घरबाट मगरले कम्पनीको कागजात चोरी गरी लम्साल र मानन्धरको मुख्य सहयोगमा कागजात, सहीछाप र हस्ताक्षर किर्ते गरी जटियाको नामको सम्पूर्ण शेयरहरू खरिद गरेको भनी कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन दिएका थिए ।

त्यसपछि कम्पनी रजिष्टारको कार्यालयबाट मगरको नाममा कम्पनीको नाममा रहेको करिव ७० करोड रूपैयाँ मूल्य बराबरको सम्पत्ति नामसारी गरी ठगी गरेका थिए ।

सीआईबीद्वारा पक्राउ परेका जनालाई विद्युतीय अपराध, चोरी, ठगी तथा संगठित अपराधमा अनुसन्धान पछि प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, काठमाण्डौंमा पेश गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए ।

यस्तो छ कीर्ते कार्यको श्रृङ्खला

शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रा।लि।को संचालक समितिको बैठकको निर्णय भनी शेयरधनी संचालक राम निरंजन जटियाले जित बहादुर मगरलाई कम्पनीको ७५५ बराबर हुन आउने १८७५० थान शेयर बिक्री गरेको भनी किर्ते कागज खडा गरे ।

विशेष साधारण सभाको वैठकवाट जित बहादुर मगरले आफूलाई अध्यक्ष वनाएको, राम निरंजन जटियालाई सञ्चालक भनी उल्लेख गरे ।

गत असार २६ गते जटियाको संञ्चालक पदबाट राजीनामा स्वीकृतिको निवेदन पेश गरेको गरियो । साथै कम्पनीको अर्को संञ्चालक समितिको वैठकले कम्पनीको २५५ बराबर हुन आउने ६२५० थान शेयर जटियाबाट मगरले खरिद गरेको उल्लेख गरेको कागज बनाइयो र कम्पनीको अर्को विशेष वैठकबाट मगरको नाममा मात्र १ जनाको संचालक समिति हुने भनी निर्णय गरियो ।

कम्पनी रजिष्ट्रार कार्यालयको असार २९ र ३२ गतेको निर्णयले कम्पनीको शेयर लगत जटियाको नामबाट मगरको नाममा नामसारी गर्यो ।

काठमाडौंको बालुवाटार वस्ने राजभाई श्रेष्ठलाई कसम्पनीको शेयरधनी संचालक म हुँ भनी कागजात समेत देखाई मगर समेतले फेरि वालुवाटारको १४ आना १ पैसा ३ दाम जग्गा प्रति आना २१ लाख २५ हजारको दरले खरिदका लागी बैंक मार्फत १ करोड बैना लिए ।

यस्तै चितवन जिल्ला भरतपुर नगरपालिका वडा नं। ४ का प्रेमसागर सापकोटालाई कम्पनीको शेयरधनी संचालकको कागजात देखाई जीत मगर समेतको समूहले चन्द्रागिरी स्थित सतुङ्गलको १५ रोपनी जग्गा प्रति आना १० लाख २५ हजारको दरले खरिदका लागी २ करोड बैना लिए ।

–कम्पनीको शेयरधनी संचालक जटियाले साउन ११ गते एक दैनिकमा मगरले सहीछाप हस्ताक्षर किर्ते गरी सम्पूर्ण शेयरहरू बिक्री गर्न लागेको हुँदा हक हस्तान्तरण गरी नलिन सार्वजनिक सूचना जारी गरे ।

मगरले मिति साउन १६ गते फेरि अर्को एक दैनिकमा कम्पनीको शेयर र घर जग्गा समेत जटियाको मन्जुरीमा कम्पनी रजिष्टारको कार्यालयबाट आफ्नो नाममा नामसारी भईसकेकोले कम्पनीको नाममा भएको घर जग्गा खरिद गर्दा बाधा पर्ने छैन भनी सार्वजनिक सुचना जारी गरे ।

त्यसपछि जटियाले साउन १७ गते दैनिक पत्रिका मै मञ्जूरी वेगर र मगरले सहीछाप हस्ताक्षर किर्ते गआफ्नो सम्पूर्ण शेयरहरू बिक्री गर्न लागेको हुंदा हक हस्तान्तरण गरी नलिन सार्वजनिक सुचना जारी गरे ।

प्रहरीले सुरुमा लम्साल, मानन्धर र मगरलाई पक्राउ गरी उनीहरुको बयानको आधारमा कम्पनी रजिष्टारको कार्यालयका ४ कर्मचारीसहित अरु ५ जनालाई पक्राउ गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए । रातोपार्टीबाट साभार

कमेन्ट गर्नुहोस्

error: Content is protected !!