खाडीमा नेपाली महिलाको कोख भाडामा, अरबीका लागि बच्चा जन्मार्इ फर्किने गरेको खुलासा !

काठमाडौं, भदौ २१ । बर्दियाकी एक चौधरी थरकी युवतीले खाडीमा छोरी जन्माएर घर फर्किइन् । शुरुमा परिवारले घरमा पस्न दिएनन् । पछि श्रीमानले ‘जे भयो, भयो’ भनेर श्रीमतीलाई घरमा भित्र्याए, विदेशीको उपहार छोरीसहित ।

 

मालिकले गर्भवती बनाए । छोरी जन्मियो । बच्चा जन्मिएपछि यही छोड्नु पर्छ भन्ने पूर्व सहमति थिएन । मालिकले यौन हिंसा गर्दा बच्चा जन्मिएको थियो । मालिकले छोरी छोड्नै पर्छ भन्ने कर गरेनन् । सोझी युवतीले पनि विदेशबाट बच्चा बोकेर फर्किदा मलाई गाउँमा के भन्लान् भन्ने फिक्रि गरिनन् ।

 

नौ महिना गर्भमा रहेको सन्तानलाई छोड्न कुन चाहि आमाको मनले मान्छ र ? अहिले उनी घरमै छिन् । खेती किसानी गर्छिन् । ‘विदेशी’ छोरी हुर्किदै छिन् ।यो त हिंसामा परेकी युवतीको कुरा भयो । तर, यतिबेला खाडीमा गएका कतिपय नेपाली महिलाले कोख भाडामा दिएर अरबीका लागि बच्चा जन्माइ फर्किने गरेको तथ्य बाहिर आएको छ ।

 

१२ औं मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवसका अवसरमा नेपालगञ्जमा आयोजित ‘जिल्लाको मानव बेचबिखनको अवस्था र चुनौती’ विषयक अन्तरक्रियामा सरोकारवाला निकायले यस्तो तथ्य बाहिर ल्याएका हुन् । नेपाल समाचारपत्रमा छ ।

 

‘भारत तथा खाडीमा पैसा लिएर कोख भाडामा दिने गरेका घटनाहरु आएका छन्, मानव बेचबिखन तथा ओसारपसार विरुद्धको जिल्ला समितिका सदस्य एवं माइती नेपाल, नेपालगञ्जका क्षेत्रीय संयोजक केशव कोइरालाले भने-नयाँ कुरा भएकाले हामीले यसलाई विशेष तरिकाले हेर्दै छौ ।’ उनले यस्तो गरेका महिला भेटिए पनि कुरा बाहिर ल्याउन नचाहेको बताए ।

 

खाडीमा हिंसामा परेर फर्किएकी बाँकेकी एक महिलाले पनि आफूले यस्तो कुरा उही सुनेको बताइन् । ‘अरबीहरुले नेपाली महिलाबाट बच्चा जन्माउने गरेको मैले खाडीमै थाहा पाएको थिए, सात महिनामा ६ घर वटा फेर्दा पनि हिंसामा परेकी ती महिलाले भनिन्, बच्चा जन्माइदिंदा अरबीले राम्रै पैसा दिने गरेको दलालले सुनाएका थिए ।’ उहांका अनुसार, कतिपय महिलाले भने हिंसामा परेर गर्भ बोक्छन् र फाल्छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!