सिरियामा अर्को भीषण युद्धको सम्भावना, इदलिब सहरमा आक्रमण गर्ने योजनामा सरकारी सेना

दमास्कस, सिरिया, भदौ २० ।  सिरियाली सरकारी फौजले विद्रोहीहरूको अन्तिम गढ इदलिब सहरमा आक्रमण गर्ने तयारी गरिरहेको छ ।

उता अमेरिकी राष्ट्रपति ट्रम्प र संयुक्त राष्ट्र सङ्घले उसलाई त्यसो नगर्न चेतावनी दिएका छन् । लगभग ३० लाख जनसंख्या भएको इदलिबमा १० लाखको हाराहारीमा बालबालिका रहेका छन् ।

टर्कीको सीमासँग जोडिएको यो क्षेत्रमा कब्जा गर्नु सामरिक रूपले सिरियाली फौजका लागि धेरै महत्वपूर्ण हुनेछ । इदलिबमा सरकारी सेनाको नियन्त्रण भएपछि विद्रोहीहरू तितरबितर हुने आकलन गरिएको छ । हाल त्यहाँ विभिन्न समूहका लगभग ३० हजार हतियारबन्द लडाकुहरू रहेका छन् ।

सिरियाली सेनाले विद्रोहीहरूले कब्जा गरेका ठाउँहरूमा नियन्त्रणमा लिँदै गएपछि धेरैजसो लडाकु र आम मानिस भागेर यहाँ आएका हुन् ।

उता संयुक्त राष्ट्र संघले सिरियाली सरकारलाई संयमित हुन आग्रह गरेको छ । उसले यसअघि पूर्वी अलेप्पो, पूर्वी गुटा र रक्कामा जस्तै इदलिबमा आक्रमण गरिए त्यो ज्यादै विभत्स युद्ध हुने चेतावनी दिएको छ ।

घना आवादी रहेको इदलिबमा आक्रमण भए सर्वसाधारणको अत्यधिक हताहती हुने र लगभग आठ लाख मानिस घरबारविहीन हुने चेतावनी संयुक्त राष्ट्र संघले दिएको छ ।

३० अगस्तमा एउटा सम्बोधनको क्रममा सिरियाली विदेशमन्त्री वालिद मुआलेमले अब सरकारको अर्को लक्ष इद्लिब रहेको बताएका थिए । उनले सिरियाले इदलिबलाई स्वतन्त्र गराउन जस्तोसुकै बलिदान दिन पनि तैयार रहेको बताएका थिए ।

उता सिरिया र रुस भने इदलिबलाई स्वतन्त्र गराउनु आफ्नो अधिकार रहेको बताउँदै आइरहेका छन् । इदलिबमा उपस्थित लडाकुहरूलाई अमेरिकाको समर्थन रहेको छ ।

सिरियामा रहेका राष्ट्र संघका दूत स्टाफेन डे  मिस्तुराले रुस इरान र टर्कीसँग युद्धमा हतार नगर्न आग्रह गरेका छन् ।

उता टर्की पनि हाललाई यो युद्ध स्थगित होस् भन्ने चाहन्छ । सिरिया, रुस र टर्की यसै मुद्दामा  शुक्रवार एकापसमा भेट्दै छन् ।

यो युद्ध सुरु भएको खण्डमा टर्कीमा एकपटक फेरी सिरियाली शरणार्थीहरूको ओइरो लाग्ने देखिन्छ ।

यसअघि नै त्यहाँ ३० लाख सिरियाली शरणार्थी रहेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!