साफ च्याम्पियनसिप फुटबलः नेपाल पाकिस्तानसँग पराजित

काठमाडौं, भदौ १९ । बंगलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपाल पराजित भएको छ । भर्खरै सकिएको पाकिस्तानसँगको खेलमा नेपाल २–१ ले पराजित भएको हो ।

च्याम्पियनसिप फुटबलका पहिलो खेलमा नेपाल इन्जुरी टाइममा गोल खाँदै पाकिस्तानसँग २–१ गोल अन्तरले पराजित भएको हो । इन्जुरी टाइम सकिनै लाग्दा मोहम्मद अलीले हेड गोल गर्दै पाकिस्तानलाई जित दिलाएका हुन् ।

यसअघि ८२औं मिनेटमा नेपालका विमल घर्तीमगरले बराबरी गोल गरेका थिए । निराजन खड्काको हेड बललाई विमलले जाली चुमाएका थिए । ढाकाको बंगबन्धु राष्ट्रिय रंगशालामा नेपालले पहिलो हाफमा पेनाल्टीमा गोल खाएको थियो ।

खेलको ३४ औं मिनेटमा कप्तान विराज महर्जनले डिबक्सभित्र फल गरेपछि पाकिस्तानले पेनाल्टी पायो । त्यसमा हसन नविद बासिरले सहजै गोल गरे ।

नेपालले आक्रमक खेल खेलेको थियो । तर, गोल गर्न भने सकेन । लगतै विमल घर्तीमगरले निकालेको पासलाई कप्तान विराज महर्जनले गरेको उत्कृष्ट प्रहारलाई पाकिस्तानका गोलकिपर युसाफ बचाएका थिए ।

दोस्रो हाफमा पनि आक्रमक खेल खेलेको थियो तर, पाएको मौकालाई गोलमा परिणत गर्न भने सकेन । खेलको अन्तिम समयमा सुजल श्रेष्ठले प्रहार गरेको बल पाकिस्तानका खेलाडीले उत्कृष्ट बचाउ गरेपछि नेपालले २–१ गोलको अग्रता बनाउनबाट चुकेको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!