मेस्सी फिफा उत्कृष्ट खेलाडीको शीर्ष तीनबाट आउट, सालहको इन्ट्री

लण्डन,  भदौ १९ । लगातार एघार वर्षदेखि ‘फिफा उत्कृष्ट खेलाडी’को उत्कृष्ट तीनको सुचिमा पर्न सफल लियोनल मेस्सी यस वर्ष सो दौडबाट बाहिरिएका छन् ।

मेस्सीले २०१०, २०११, २०१२ र २०१५ मा गरी चार पटक उक्त उपाधि हात पारिसकेका छन् । यस पटक पाँचौ पटक उक्त उपाधि हात पारेर क्रिस्टियानो रोनाल्डोको पाँच पटकसम्मको किर्तिमानको बराबरी गर्ने उनको सपना भने पूरा हुन सकेन ।

विश्व फुटबल महासंघ (फिफा)ले दिने यस बर्षको विश्व पुरुष उत्कृष्ट खेलाडी बर्ष अवार्डकालागि तीन खेलाडीको नाम मनोनयनमा परेको हो ।
यसपालिको उत्कृष्ट तीनमा क्रिस्टियानो रोनाल्डो,  लुका मोड्रिक र इजिप्टका मोहम्मद सालहको नाम मनोनयनमा परेको छ । रोनाल्डोले यसअघि २००८, २०१३, २०१४,२०१६ र २०१७ गरी पाँच पटक उपाधि जितेका छन् ।

त्यस्तै विश्वकप विजेता टोली फ्रान्सका व्यवस्थापक डिडिएर डेस्चाम्पस, जलाटको डालिक र जिनेडिन जिडान यसअघि नै बर्ष प्रशिक्षक अवार्डका लागि मनोनयनमा पर्नुभएको थियो ।

उक्त पुरस्कारको घोषणा २४ सेप्टेम्बरमा लण्डनस्थित रोयल फेस्टिभल हलबाट हुने कार्यक्रम रहेको छ । यो पुरस्कार सुरुमा ‘फिफा विश्व खेलाडी’का नामले १९९१ देखि २००९ सम्म संचालित रहेको थियो । २०१० देखि २०१५ सम्म यसलाई ब्यालोन डी’ओर भन्ने गरिन्थ्यो ।

लियोनेल मेस्सीको गत विश्वकपमा फितलो प्रदर्शनका कारण उनी यसपटकको मनोनयनमा पर्न नसकेको विश्लेषकहरूले बताएका छन् ।

एजेन्सीहरू

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!