‘रामकहानी’ बाट आकाशले कतिको सफलता हात पार्न सक्लान् त ?

नेपाली चलचित्र ‘म त तिम्रै हुँ’ बाट पहिलो पटक पाइला राखेका अभिनेता आकाश श्रेष्ठको चलचित्र यात्रा सुरु भएपनि यो यात्रा सोचेजस्तो अघि बढ्न सकेको छैन ।

आफ्नो हातमा थुप्रै चलचित्र आएपनि कुनै सफल हुन नसक्दा गुनासो व्यक्त गरेका छन् यी अभिनेता । डेब्यु चलचित्रपछि उनका २ चलचित्र प्रदर्शनमा आए । चलचित्र ‘तिमीसँग’ मा अहिलेकी चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँग जोडी बाँधियो । हालैमात्र प्रदर्शनमा आएको नेपाली चलचित्र ‘ब्ल्याक’ मा उनको अपोजिटमा अभिनेत्री आँचल शर्मा थिइन् । तर, दुर्भाग्य ! दुवै नेपाली चलचित्र बक्स अफिसमा डुबे ।

फ्लप चलचित्रमा ह्याट्रिक मारेका आकाशको अहिलेसम्म अभिनयको समेत वाहवाही भएको छैन । ‘डाइलग डेलिभरी’ मा कमजोर रहेको आलोचना खेपिरहेका उनको अब नयाँ नेपाली ‘रामकहानी’ प्रदर्शनमा आउँदै छ ।

तेस्रो चलचित्र रिलिजको एक महिना पनि नबित्दै उक्त चलचित्र यही भदौ २२ गतेबाट सबै हलहरुमा प्रदर्शनमा आउने भएको छ । लगातार फ्लप नेपाली चलचित्र छायाँले पछ्याइरहँदा उनलाई ‘रामकहानी’ ले आफ्नो कहानी बदल्ने विश्वास छ ।

सुदर्शन थापा निर्देशित चलचित्रमा अभिनेत्री पूर्जा शर्मादेखि चर्चित हास्यकलाकार केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा, राजाराम पौडेल लगायत प्रमुख भूमिकामा छन् ।

गीत–संगीत र ट्रेलरका कारण चर्चामा रहेको उक्त फिल्मले घरेलू बजारमा सुखद नतिजा ल्याउने फिल्मी पण्डितहरुको आँकलन छ । फिल्ममा आकाशको जोडी पूजासँग बाँधिएको छ ।

चलचित्र ‘रामकहानी’ को कहानी नै उनको वरिपरि घुमेका कारण यो फिल्मको सफलताले उनलाई ठूलो फाइदा हुने देखिन्छ । उनले आफ्नो अभिनयमा भने कति सुधार ल्याए ? यसले पनि उनको आगामी भविष्यको निर्धारण गर्ने छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!