मेरै पालामा ८ हजार किलोमिटर सडक निर्माण गर्छुः मन्त्री महासेठ

विराटनगर, भदौ १९ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले आफ्नो कार्यकालमा ८ हजार किलोमिटर सडक निर्माण गर्ने दाबी गरेका छन् । निर्माण व्यावसायी सङ्घ मोरङ, बिराटनगरको २४औँ वार्षिक साधारणसभाको सोमबार उद्घाटन गर्दै मन्त्री महासेठले भने, ‘अबको पाँच वर्षभित्रमा ६ देखि आठ हजार किलोमिटर सडक निर्माण गर्छु ।’

उनले मुलुकमा ऐतिहासिक परिवर्तनपछि राजनीतिक एजेण्डा समाप्त भएकाले अब मुलुकको समृद्धि र विकासमा मात्र सरकार केन्द्रित हुनेसमेत बताए । अब सरकारले सोचेअनुसारको काममा लाग्ने उनले प्रष्ट पारे ।

अगामी संसदीय निर्वाचन अघि मेचीदेखि महाकालीसम्म हुलाकी राजमार्ग निर्माण सम्पन्न गर्ने अठोटका साथ सरकारले काम गरिरहेको मन्त्री महासेठले आश्वासन दिए । मुस्ताङमा रहेको युरेनियम खानी प्रयोगमा ल्याउन सके ५० देखि ६० वर्षको बजेट त्यसैले धान्ने उनको भनाइ थियो ।

पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति गरी चार लेनको बनाउन चाँडै बोलपत्र आह्वान गरिने मन्त्री महासेठले जानकारी दिए । उनले निर्माण व्यवासायीलाई मुलुकी ऐनबाट होइन, निर्माण करार ऐनबाट कारबाही गरिने र निर्माणका क्रममा कमी कमजोरी रहेको पाइए व्यावसायी मात्र होइन, सम्बन्धित कर्मचारीलाई समेत कारवाही गरिने स्पष्ट पारे । -रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!