गौरा पर्वबारे केही कुरा

भदौको महिना प्रदेश नं. ७ का लागि विशेष रहेको छ । यो महिना तीन वटा महत्वपूर्ण चाडहरू पर्ने गर्दछन्: ओल्के संक्रान्ति, जन्माष्टमी अर्थात अष्टिम्की र गौरा पर्व ।

ओल्के संक्रान्ति भदौ महिनाको पहिलो दिन पर्ने गर्दछ । यो कृषक जीवनको प्रतिनिधि पर्व हो । यस समय पहाडी खोलानालाहरूले ठुला ठुला महानदी तथा समुद्रहरूलाई प्रशस्त पानीको ओल्को(उपहार) लगेर जाने भएकाले र त्यही उपहार स्वरूपको पानीले खेत र गह्राहरू सिंचित हुने भएकाले यो पर्व मनाइने गरेको धेरैको मान्यता रहेको छ ।

कृष्ण जन्माष्टमीलाई थारु समुदायले अष्टिमकी पर्वका रूपमा मनाउने गर्दछन् । विशेष गरेर पश्चिमा थारु समुदायमा यो पर्व निकै महत्वका साथ मनाइन्छ । कृष्ण जन्माष्टमीको दिनभर व्रत बसेर थारु समुदायका मानिस साँझ धुमधामका साथ् कृष्ण पूजा गर्ने गर्दछन् । यस चाडमा भित्तामा प्राकृतिक रंगहरूका माध्यमले कृष्णलीला र सृष्टि कथाको चित्र कोर्ने गरिन्छ । यस पर्वमा कोरिने चित्रहरू थारु मौलिक चित्रकलाका अनुपम नमुना हुन् ।

याे पनि पढ्नुस  देउवा निवासमा गौरा भित्र्याइयो

त्यस्तै यस महिना मनाइने अर्को महत्वपूर्ण पर्व हो गौरा । विशेष गरेर दुर्वाष्टमीका दिन पर्ने यो पर्व विशेष गरेर काली-कर्णालीको पर्वतीय सेरोफेरोमा मनाइने मातृपर्व हो । सम्भवतः सनातनी हिन्दूहरूले मनाउने यो एक मात्र यस्तो पर्व हो जसमा श्रीमतीले समेत श्रीमानलाई आशिष दिने गर्दछिन् ।

गौरा पूजनलाई यस पर्वतांचलमा विभिन्न नामले चिनिन्छ। नेपालको भूगोलभित्र यसलाई गो:रा या गमराका नामले मनाइन्छ भने भारतको कुमाउँ क्षेत्रमा यसलाई सातूँ-आठूँ पर्वका नामले मनाइने गरिन्छ ।

यस पर्वको विधिवत सुरुवात पंचमी तिथिका दिन देखि नै हुन्छ । त्यस दिन महिलाहरू पाँच प्रकारका अन्न भिजाउने गर्दछन् । गहुँ, केराउ, मास, गहत र गुरुँस सम्मिलित यस सम्मिश्रणलाई ‘बिरुडा’ भनिन्छ ।

याे पनि पढ्नुस  गौरा पर्व र देउडा गीत सुदूरपश्चिमकै मात्रै नभई नेपालकै पहिचान होः उपराष्ट्रपति पुन

त्यसको भोलिपल्ट बिरुडा धुने दिन हो, यस दिन गाउँका सबै महिलाहरू पँधेरामा गएर गौरा-गीत गाउँदै बिरुडा धुने गर्दछन् । त्यसको अर्को दिन अमुक्ताभरण सप्तमी अर्थात गौरा सप्तमीका दिन गौरा भित्र्याउने गरिन्छ । महिलाहरूले साउँ, धान, तिल, अपामार्ग आदि बिरुवाबाट गौराको प्रतिमा बनाइ गौरा-घरमा राख्दछन् । यसदिन गौराघरमा दुब्धागो, एउटा विशेष प्रकारको धागो जुन महिलाहरूले पुरुषले जनै पहिरेजस्तै पहिरिने गर्दछन्, अभिषेक गरिन्छ ।

मुख्य गौरा पर्व अष्टमीका दिन पर्ने गर्दछ । यस दिन आठ अध्यायको अठ्याँवली (अष्टावली) गाउँदै महिलाहरू गौरा-महेश्वरको प्रेम गीत गाउने गर्दछन् ।

धेरै आलेखहरूमा गौरा पर्व भाद्र शुक्ल अष्टमीमा पर्ने भनेर लेखिएको पाइन्छ तर कुरो भने अर्कै छ । गौरा दुई किसिमका छन्; अन्यारी(अँधेरी) गौरा र उजेली गौरा । यस्दी शुक्ल पक्षमा गौरा परेछ भने यसलाई उजेली गौरा भनिन्छ भने कृष्ण पक्षको अष्टमीमा परेको खण्डमा यसलाई अन्यारी गौरा भनिन्छ ।

याे पनि पढ्नुस  सुदूरपश्चिममा गौरा पर्वको चहलपहल शुरु

गौरा उजेली वा अनेरी कस्तो पर्ने भन्ने कुराको निर्धारण भने ज्योतिष गणनाका आधारमा गरिन्छ । अगस्त्योदयभन्दा पहिले नै गौरा मनाइसक्नु पर्ने भएकाले अगस्त्योदयले गौरा कुन पक्षमा पर्ने भन्ने निर्धारित गर्दछ । कृष्ण पक्षको गौरा जन्माष्टमीका दिन र शुक्लपक्षको गौरा नन्दाष्टमीका दिन पर्ने गर्दछ ।

यो पर्व सुदूर पश्चिम नेपाल र भारतको कुर्मांचलमा नयाँ लुगा लगाउने र मिठो भोजन ग्रहण गर्ने पर्वका रूपमा समेत मनाइन्छ ।

साथै यस पर्वले ग्रामिण जनजीवनको प्रकृतिमाथिको निर्भरता समेत प्रदर्शित गर्दछ ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!