शिक्षासेवी उत्तम सञ्जेलको विवाह, ३०० रुपैयाँ खर्च (भिडियाेसहित)

काठमाडौं, भदौ १८। शिक्षा अभियन्ता उत्तम सञ्जेलले ४१ वर्षको उमेरमा बिहे गरेका छन् । उनले गुहेश्वरी मन्दिरमा अत्यन्त साधारण तरिकाले सुन्दरीजलकी कला अधिकारीसँग सोमबार बिहान बिहे गरेका हुन् ।

सामाजिक अभियन्ता सञ्जेल र अधिकारीले अत्यन्तै कम खर्चमा बिहे गरेर फजुलखर्चीहरुलाई चुनौती दिएका छन् । बेहुला उत्तमले ‘समता स्कुल इन्डिया’ लेखिएको टिसर्ट लगाएका थिए । खुट्टामा चप्पल थियो । बेहुली कलाले रातो कुर्ता–सुरुवालमा घुम्टो ओढेकी थिइन् ।

बिहेमा करिब १ दर्जन व्यक्तिहरु उपस्थित थिए । दुवै पक्षका परिवारका सदस्यहरु उपस्थित थिएनन् । परिवारका सदस्यहरु निम्त्याउँदा ‘उपहार लेनदेन’ को कुरा आउन सक्ने भएकाले नबोलाएको सञ्जेलले बताए ।

‘म सँधै साधारण जीवनशैलीको पक्षपाती भएकाले बिहे पनि साधारण तरिकाले गरेँ,’ उनले भने ।

 

सञ्जेलले कलालाई सिन्दुर पोते र माला लगाइदिएका थिए । त्यसपछि उनले २ मिनेट बोलेपछि बिहे सम्पन्न भएको थियो । बेहुली कला भने लजाएर बोल्न मानिनन् ।

करिब ५ मिनेटमा बिहे सकिएको कलाकार मनोज गजुरेलले बताए । बिहेपछि भोजका रुपमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सबैलाई सुगर फ्री लड्डु बाँडेका थिए । लड्डुको प्रायोजन उनीहरुकै थियो ।

पण्डित नबोलाई गरिएको बिहेमा आफ्नो जम्मा तीन सय रुपैयाँ मात्र खर्च भएको उत्तमले जानकारी दिएका छन् ।

‘२५ रुपैयाँको सिन्दुर, ७५ रुपैयाँको पोते र दुई सय रुपैयाँका दुईवटा मालामा बिहे सकियो,’ उनले भने ।

उत्तम र कलाको चार महिना अगाडि मात्रै चिनजान भएको हो । उत्तमले सञ्चालन गरेको सय रुपैयाँमा उपचार गरिने समता हस्पिटलमा कला हेल्थ असिस्टेन्टका रुपमा कार्यरत छन् । त्यही उनीहरुको भेट भएको थियो पहिलो पटक ।

‘शारीरिक आकर्षणले भन्दा पनि विचार मिलेकाले हामी एक–अर्कासँग नजिकिएका हौं,’ उत्तमले भने । उत्तमका परिवारमा बुवाआमा, बहिनी र दुई भाइ छन् । बहिनी र दुई भाइको बिहे पहिल्यै भइसकेको छ ।

मासिक सय सय रुपैयाँमा पठनपाठन गराइने समता स्कुल सञ्चालन गरेर उत्तम चर्चित छन्। उनले सञ्चालन गरेका स्कुल नेपालका ७७ वटै जिल्लाका साथै भारत, श्रीलंका र बंगलादेशमा पनि चलिरहेका छन् । उनले करिब ६५ हजार गरिब विद्यार्थीलाई नर्सरीदेखि डिग्रीसम्म पढाइरहेका छन् ।

अनलाइनखबरबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!