कुबेतमा अचेत किसान अस्पतालमा

म्याग्दी । रघुगङ्गा गाउँपालिका–३ मतारेका गणेशबहादुर किसान (थापा) कुबेतमै ढले । रक्तचापको समस्याले अचेत् भएर ढलेपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरियो ।

गत साउन ६ गते अकस्मात स्वास्थ्यमा गम्भीर समस्या आएपछि उनलाई कोमामा (अचेत अवस्था) राखेर उपचार गरिएको थियो ।

दुई हप्तापछि सामान्य होशमा आउनुभएका किसानको स्वास्थ्य पूर्ण रुपमा सामान्य अवस्थामा फर्कन अझै सकेको छैन् । उनी अहिले पनि आफूले काम गर्ने कम्पनीको सहयोगमा कुबेतको आदान अस्पतालमा उपचार गराइरहनुभएको छ । घरखर्च जुटाउन प्रवास पुग्नुभएका घरमूली नै बिरामी परेर अस्पतालमा भर्ना भएपछि यता उहाँको परिवार चिन्तित बनेको छ । कुबेतको कुक्जे कम्पनीमा कार्यरत किसान प्रवासमै थलिएपछि परिवारको गुजारा चलाउने सपना भताभुङ्ग भएको छ ।

दुई वर्षदेखि उक्त कम्पनीमा कार्यरत उहाँको उपचारमा लाग्ने खर्च अहिलेसम्म कम्पनीले नै व्यहोरेको सोही कम्पनीमा प्रशासन शाखामा कार्यरत राखु साझापानीका कमल भण्डारीले जानकारी दिए ।

‘‘किसानको स्वास्थ्यमा सामान्य सुधार आएपछि कम्पनी घर पठाउने तयारीमा थियो, हामीले उनको पूर्ण उपचार यहीँ गरेर मात्रै नेपाल पठाउने भनेका छौं, उनलाई नियम अनुसारको सहयोग गर्न कम्पनीले स्वीकारेको छ, स्वास्थ्यमा क्रमिक सुधार आएकाले छिट्टै घर पठाउन सक्छौँ भन्ने लागेको छ ’’, भण्डारीले भने।

उहाँकाअनुसार बिरामी भएपछि लामो समयसम्म बोल्नसमेत नसक्ने अवस्थाका किसान अहिले सामान्य बोल्न सक्ने भए पनि अझै पूर्ण रुपमा स्मरणशक्ति फर्किसकेको छैन् । यता अस्पतालमा उपचाररत किसानको उपचार र उनलाई सहज रुपमा नेपाल पठाउन म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुबेतले चासो दिएको छ ।

मोना कुबेतका संयोजक प्रेम विश्वकर्मा, महासचिव चन्द्र विश्वकर्मा, कोषाध्यक्ष कुष्णबहादुर खड्काले अस्पतालमा पुगेर बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । बीमा बापतको क्षतिपूर्ति लिन दूतावाससँग आवश्यक पहलको आग्रह गरिएको मोना कुबेतका महासचिव विश्वकर्माले जानकारी दिए । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!