सबै पक्षलाई राजनीतिको मुल प्रवाहमा ल्याउन आवश्यक –गृहमन्त्री

काठमाडौं, भदौ १७ । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले बिभिन्न माग राखी आन्दोलनरत सबै पक्षहरुलाई राजनीतिको मुल प्रवाहमा ल्याउनु अहिलको आवश्यकता भएको बताएका छन् ।

सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित उच्चस्तरीय वार्ता टोलीसँग आइतबार गृहमन्त्रालयमा भएको छलफलमा गृहमन्त्री थापाले सबै पक्षहरुलाई राजनीतिको मुल प्रवाहमा ल्याउने गरी वार्ता गर्न टोलीलाई निर्देशन दिए ।

गत भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकले सङ्क्रमणकालमा विविध कारणले वार्ता हुन नसकेका र छुट भएका बिभिन्न समूहसँग वार्ता गर्न सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा पूर्वसभासद सुरेश आले मगर, लिला भण्डारी, ताराकान्त चौधरीलगायत रहेको उच्चस्तरीय वार्ता टोली गठन गरेको थियो ।

वार्ता टोलीसँग गृह मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री थापाले शान्ति, स्थिरता र सुशासन आजको आवश्यकता रहेको भन्दै त्यसलाई सार्थकता दिन सर्वपक्षीइ सम्वादलाई जोड दिन वार्ता टोलीका सदस्यहरुलाई आग्रह गरे ।

गृह मन्त्रालयसँगको समन्वयमा वार्ता टोलीले काम गर्ने भएकोले मन्त्रालयको तर्फबाट सबै किसिमको सहयोग वार्ता टोलीलाई हुने गृहमन्त्रीले बताए ।

वार्ता समितिका संयोजक पाण्डेले टोली गठन भएपछिको अवस्था र वार्ताका लागि भइरहेका प्रयासको बारेमा बैठकमा जानकारी गराएका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!