तीनवर्ष पछि बल्ल खुल्यो पाटनको कृष्णमन्दिर (तस्वीरहरु)

ललितपुर । आज बिहानैदेखि पाटनको कृष्णमन्दिरमा भक्तजनहरुको निकै घुइँचो लागेको छ ।

श्रीकृष्ण जन्माष्ठमीका अवसरमा पाटन कृष्णमन्दिर लगायत अन्य स–साना कृष्णमन्दिरमा समेत दर्शनार्थीहरुको निकै भीड देखिन्छन् ।

वि.सं २०७२ को भूकम्पपछि यो वर्षमात्रै दर्शनार्थीले मन्दिरभित्र गएर माथिल्लो तलामा रहेको कृष्णको मन्दिरमा दर्शन गर्न पाएका हुन् । भूकम्पबाट क्षति पुगेपछि तीन वर्षसम्म मन्दिरमा पूजारीले पूजा गर्नेबाहेक सर्वसाधारणले भित्र गएर दर्शन गर्न नपाएको पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताए ।

उनले भने, ‘हामीले कृष्णाष्ठमीमा खुल्ला गर्नका लागि केही दिन पहिले मात्रै निर्माण सम्पन्न गरेका थियौँ ।’

कृष्णाजन्माष्टमीका दिनमा वर्षेनी राष्ट्रप्रमुख दर्शनका लागि यहाँ आउने गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार दिउँसो २ः३० बजे यहाँ आउने कार्यक्रम तय भएको छ । मन्दिरमा दर्शनका लागि आउने विशिष्ठ पाहुना र दर्शनार्थीको भीडलाई हेरेर सुरक्षा व्यवस्था मजबुत बनाइएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए।

बिहान २–३ बजेदेखि नै पाटन कृष्णमन्दिरमा भक्तजनहरु आइपुगेका छन् ।

नेपाल प्रहरीसँगै नेपाल स्काउट र विभिन्न सङ्घ–संस्थाका स्वयंसेवक दशनार्थीको सहयोगका लागि खटिएका छन् । दर्शनार्थीलाई स्वास्थ्य समस्या आउँदा तत्काल उपचारका लागि स्वास्थ्य संस्था यस क्षेत्रमा खटिएका छन् ।

विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा रहेका स्मारकमध्ये कृष्ण मन्दिरलाई महत्वपूर्ण मानिन्छ । ढुङ्गै–ढुङ्गाले बनेको कृष्ण मन्दिरलाई शिखर शैलीको उत्कृष्ट नमूनाका रूपमा मानिन्छ । मन्दिरमा २१ गजुर रहेका छन् ।

१७औँ शताब्दीमा पाटनका राजा सिद्धिनरसिंह मल्लले यो मन्दिरको निर्माण गर्न लगाएका थिए । उनले कृष्ण मन्दिर बनाउनेसँगै कृष्ण लीलामा आधारित नाच सञ्चालन गरेका थिए ।

जसलाई कात्तिक नाच पनि भनिन्छ । कृष्ण मन्दिर तीन तला रहेको छ । बीचको तलामा कृष्णको मूर्ति रहेको छ । मूर्तिको वरिपरि बिष्णुका १० अवतार मूर्ति छन् ।

मन्दिरका थामहरुमा विभिन्न देवी–देवताको मूर्ति कुँदिएको छ ।

हेर्नुहोस् कृष्णाष्टमीको अवसरमा पाटन कृष्णमन्दिर परिसरका केही झलकहरु-

 

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!