निर्मला पन्तको घरमा मन्त्री बिना पुग्दा रुवावासी

भीमदत्तनगर, भदौं १६ । बिहान ११ बजे, खानेपानी मन्त्री तथा कन्चनपुर जिल्ला निर्वाचन क्षेत्र.१ बाट निर्वाचित सांसद बीना मगरसहितको टोली मृतक निर्मला पन्तको घर पुग्दा घर सुनसान थियो ।

गाडीहरुको ताती देखेपछि एकैछिनमा एकजना महिला भित्रबाट निस्किन । चार पाँच कुर्सी थिए आगनमा । केही बेरमा भित्रबाट आइन एक जना महिला । कसैले परिचय गरायो ‘यी निर्मलाकी आमा’ त्यसपछि कसैको बोली फुटेन ।

मन्त्री मगरका आँखा रसाइसकेका देखिन्थे ।

निर्मलाकी आमाले एउटा थप कुर्सी झिकिन । मन्त्री मगर, उनी, निर्मलाकी कान्छी आमा, सांसद निरु पाल लहरै बसे । संघीय सांसद दीपक प्रकाश भट्टलगायत पनि बसे ।

सम्भवत महिलाहरु को मुटुको स्पन्दन अर्कि महिलाले नै बुझ्न सक्छन होला । यही बीच कसैले परिचय गरायो, वहाँ मन्त्री बीना मगर हुनुहुन्छ, तपाईलाई सान्त्वना भेट गर्न आउनु भएको ।

‘घटनाले हामी स्तब्ध छौ, जे भयो नराम्रो भयो । हत्त्या गर्नेलाई कारवाही हुन्छ, दरो मन गर्नुहोला’ मन्त्री मगरले निर्मलाकी आमालाई भनिन् ।

निर्मलाकी आमा भावशून्य । ‘मृत्युको पीडा के हुन्छ त्यो मैले नि भोगेकी छु’ मन्त्री मगरले भावुक हुँदै भन्न के भ्याएकी थिइन, छेउमा बसेकी कान्छीआमाको बाध भत्कियो ।

उनले सम्हाल्न सकिनन् ।

सुरु भयो रुवावासी । ‘यत्रो देशै उल्टिएको छ निर्मलाको पक्षमा तर, त्यो पापी हत्त्यारा कति बलियो रैछ अझै पत्ता नलाग्ने’ उनको रुवाई अझै चर्कियो ।

मन्त्री मगर केही बोल्न सकिनन्, उठेर कान्छी आमा छेउ गएर सम्हाल्न खोजिन् । तर, सान्त्वना दिन गएकी मन्त्री कान्छी आमालार्इ अङालो मारेर अाफै रुन पुगिन् ।

यता निर्मलाकी आमाको आँखामा अश्रु भेल बगिरहेको थियो ।

आफ्नो परिवारमा मृत्यु र बिछोडको पीडा अनुभूति गरेकी मन्त्री मगरले एक छिनपछि आफुलार्इ सम्हालिन । ‘बलियो बन्नुस, मन बाधेर दरो मुटु बनाउनुहोला । हामी तपाईं सँगै छौ ।’ उनले अवरुद्ध कण्ठले भनिन् । त्यसपछि दरोगरी हात समातिन् ।

यो दृश्यले सबैका आँखा रसाए । अवस्था नै त्यस्तै थियो । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त र पछिल्लो घटनाबारे अध्ययन गर्न मन्त्री मगर आज बिहान कञ्चनपुर पुगेकी थिइन ।

मन्त्री मगरले स्थानीय सुरक्षा तथा प्रशासन प्रमुखसँग घटनाको अनुसन्धान र पछिल्ला घटनाबारे छलफल गरेकी छन् । साथै उनले समाजमा महिला हिंसा बढ्दै गएकोले सुरक्षा व्यवस्थालाई चुस्त बनाउन निर्देशन दिइन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!