चलचित्र यात्रामा नायिका मरिश्का यता न उता !

काठमाडौं । नेपाली चलिचत्र ‘के म तिम्रो होइन र ?’ बाट नेपाली रजतपटमा भित्रिएकी अभिनेत्री मरिश्का पोखरेल एकपछि अर्को नेपाली चलचित्रमा व्यस्त भर्इ रहेपनि त्यसको उपलब्धि भने देखिएको छैन । हालसम्म उनका कुनै पनि चलचित्र बक्स अफिसमा हिट छैनन् ।

डेब्यु चलचित्रदेखि उनको फ्लप यात्रा निरन्तर अगाडि बढिरहेको छ । दोस्रो चलचित्र ‘चपली हाईट २’ ले फ्लप यात्रालाई थप कसिलो बनायो । ‘लम्फू’ बाट त उनले ह्याट्रिक नै मारिन् ।

उनलाई हालसालै प्रदर्शनमा आएका दुई नेपाली चलचित्र ‘मिस्टर भर्जिन’ र ‘पण्डित बाजेको लौरी’ बाट ठूलो आश थियो तर, त्यो पनि निराशामा परिणत भयो । दुवै फिल्म बक्स अफिसमा नराम्रोसँग डुबे ।

हिट फिल्म त टाढैको कुरा उनको अहिलेसम्म अभिनयको समेत वाहवाही भएको छैन ।

‘साइलेन्ट क्यारेक्टर’ रहेका कारण ‘ पण्डित बाजेको लौरी’ मा उनीमाथि अभिनेत्री सन्ध्या केसी हाबी भइन् ।

‘मिस्टर भर्जिन’ मा फरक भूमिका निर्वाह गर्न पाएको भन्दै दंग देखिएकी उनको यो चलचित्रबाट न तारिफ न त आलोचना नै भयो । अभिनेत्रीको रुपमा आफूलाई स्थापित गर्न संघर्षरत मरिश्काको अब भदौ २९ गतेबाट नेपाली चलचित्र ‘साली कस्को भेनाको’ रिलिज हुँदैछ ।

यी अभिनेत्रीको करियर अहिले यता न उताको बन्दै गर्दा उक्त चलचित्रले राहतको सास फेर्न दिनेमा उनी विश्वस्त छिन् । तर, यसका लागि फिल्म बक्सअफिसमा हिटसँगै उनको अभिनयको प्रशंसा हुन अत्यन्त आवश्यक छ ।

चलचित्रमा आउनु उत्ति साह्रो गाह्रो नहोला तर टिकिरहन भने सजिलो छैन ।

चलचित्रमा क्षेत्रमा भित्रिनुभन्दा अब मरिश्कालाई डुब्न लागेको करिअर बचाउन गाह्रो हुँदै गएको छ । संख्या बढाउन उद्दत रहेको आरोप समेत खेपिरहेकी उनले अब करिअरका लागि सजक हुनुपर्ने अवस्था आएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!