सम्झौताको २२ वर्षपछि नहर बनाउन भारत अग्रसर

भीमदत्तनगर । नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको २२ वर्षपछि भारतीय पक्ष महाकाली सिँचाइ तेस्रो चरणको मूल नहर निर्माण गर्न अग्रसर देखिएको छ ।

टनकपुर ब्यारेजदेखि भीमदत्त नगरपालिका–९ मटेनास्थित नेपाल–भारत सीमासम्म भारतले १२ सय मिटर नहर र हेड रेगुलेटरलगायतका संरचना निर्माण गर्ने उल्लेख छ ।

लामो समय विविध पक्षमा देखिएको विभेदका कारण नहर निर्माण ढिलाइ भएपनि गत साउन १६ गते भारतको टनकपुरस्थित एनएचपिसीले १२ सय मिटर नहरसहित रेगुलेटरलगायतका संरचना निर्माणका लागि बोलपत्र आह्वान गरेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कार्यालय भीमदत्तनगरमा सिनियर डिभिजनल (सिडिई) वीरसिंह धामीले जानकारी दिए । उक्त नहर निर्माणका लागि भारतीय पक्षले आह्वान गरेको बोलपत्र सूचनाको म्याद बिहीबार सकिएको छ ।

“सीमा क्षेत्रको नहर नबन्दा हामीले आफ्नो क्षेत्रमा निर्माण गरेको नहरमा पानी बग्छ कि बग्दैन भन्नेमा आशङ्का अब रहेन” सिडिई धामीले भने, “भारतले १८ महिनाभित्र नहर निर्माण गरिसक्ने गरी ठेक्का सूचना जारी गरेको छ ।” भारतीय पक्षले आगामी पुस महिनादेखि नहर निर्माणको काम थाल्ने महाकाली तेस्रो चरणको कार्यालयलाई जानकारी दिइसकेको छ ।

टनकपुर एनएचपिसीका अधिकारीले पनि भारतले बनाउनुपर्ने नहरलगायतका संरचना निर्माण दु्रत गतिमा हुने जानकारी दिएको धामीले बताए । सन् १९९६ को एकीकृत सन्धीमा कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित नेपालको सिमाक्षेत्र पर्ने मटेनासम्म १२ सय मिटर लामो मूल नहर निर्माणको काम भारतले गर्नुपर्ने उल्लेख छ ।

करीब १८ वर्षअघि नेपाल–भारत जलस्रोत मामिलासम्बन्धी समस्या समाधान छलफल गरी तार्किक निश्कर्षमा पु¥याउन सक्ने अधिकार प्राप्त संस्था (जेसिडब्लुआर) को पहिलो बैठक सन् २००० मै नहर निर्माणको विषयमा कुरो उठेको थियो ।

“करीब ११ वर्ष नेपाल–भारतबीच हेड रेगुलेटरको सिललेबलका विषयमा कुरो मिलेन” धामीले भने- “अब २४४ दशमलब २५ मिटर सिललेबलबाट पानी दिनेछ ।”

उनले सन् २०११ र सन् १०१३ को गरी जेसिडब्लुआरको छैटौँ र सातौं बैठकबाट सिललेबलबारे टुङ्गो लागेको जानकारी दिए । यता सरकारले भने नेपालतर्फ हालसम्म झण्डै १३ किलोमिटर नहर निर्माण गरिसकेको छ ।

छ महिनाअघि तेस्रो चरणअन्तर्गत झण्डै थप १५ किलोमिटर मूल नहर निर्माणका लागि तीन वटा प्याकेजमा ठेक्का सम्झौतासमेत भइसकेको छ । “थप नहर निर्माणको प्राविधिक काम सकेर ठेकेदार कम्पनीहरु नहर निर्माणको सुरुवाती चरणमा छन् ।” महाकाली सिँचाइ तेस्रो चरणको कार्यालय सिनियर डिभिजनल (सिडिई) धामीले भने, “अब शुक्लाफाँटाको फुलेली गाउँसम्म मूल नहर केही वर्षभित्र पुग्नेछ ।”

उक्त नहर निर्माणका लागि रु दुई अर्ब १० करोडको ठेक्का सम्झौता भएको छ । त्यसका साथै झण्डै १६ किलोमिटर नहर क्षेत्रमा करीब ३५ हेक्टर जमीनधनीलाई जग्गा अधिग्रहण गरेबापत मुआब्जा दिनुपर्ने छ । उक्त जग्गा अधिग्रहण प्रक्रियामा रहेको धामीले जानकारी दिनुभयो ।

महाकाली सिँचाइ तेस्रो चरणअन्तर्गत कैलालीको मालाखेतीसम्म १५१ किलोमिटर मूल नहर आगामी सन् २०२२ सम्म पूरा गरिसक्ने स्वीकृत लक्ष्य रहेपनि नहर निर्माणको काम भने कछुवा गतिमा छ । हाल निर्माण भएको १३ किलोमिटर मूल नहरको शाखा नहर विस्तार गरी केही वर्षपछि नहरमा आउने पानीले ब्रह्मदेव क्षेत्रको करीब तीन हजार हेक्टर क्षेत्रफल सिँचाइका लागि पहल हुनुपर्नेको धामीको जोड छ ।

“भारतले १८ महिनाभित्र नहर बनाइसक्दासम्म हामीले पनि बनाएको नहरको शाखा नहर तयार गरेर सिँचाइका लागि पहल गर्न सके लाभदायक हुन्छ ।” उहाँले भन्नुभयो, “अब भारतीय पक्षबाट उक्त नहर निर्माणमा ढिलाइ हुने देखिँदैन ।” आर्थिक वर्ष २०६३÷६४ देखि सिँचाइको नहर निर्माण शुरु भएको थियो । १५१ किलोमिटरको नहर निर्माणका लागि रु २७ अर्ब लागत अनुमान गरिएको छ । करीब एक दशक बित्दा एक अर्ब ६० करोड मात्रै खर्च भएको छ । जसमध्ये रु ६० करोड जग्गा मुआब्जामै खर्च भएको थियो ।

उक्त आयोजनाअन्तर्गतको नहर निर्माण भए कैलालीको मालाखेती र कञ्चनपुरको पुरै क्षेत्रफल गरी ३३ हजार ५२० हेक्टर सिँचाइ हुनेछ । पहिलो र दोस्रो चरणबाट कञ्चनपुरमा ११ हजार सात सय हेक्टर सिँचित भएको छ । तेस्रो चरणको मूल नहरमा वर्षातमा एक हजार र सुख्खायाममा तीन सय क्युसेक पानी बग्नेछ । मूल नहरको चौडाइ १३.६० मिटर रहेको छ । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!