भारतका केपीको रेकर्ड तोड्दै नेपालका केसीले रचे विश्व कीर्तिमान !

काठमाडौं, भदौ १५ । नुवाकोट शिवपुरी गाउँपालिका-१ का अनन्तराम केसीले ९० घण्टा दुई मिनेट निरन्तर वक्तव्य दिएर विश्व कीर्तिमान कायम गरेका छन् । भदौ ११ गते बिहान ६ बजेदेखि निरन्तर वक्तव्य दिएका उनले बिहीबार मध्यरातसम्म निरन्तर वक्तव्य दिएर सो किर्तिमान कायम गरेका हुन् । केसीले भारत केरेलाका केपी भाल साराजानको ८१ घण्टा १६ मिनेट बोलेर कायम गरेको विश्व कीर्तिमानलाई समेत तोडेका छन् ।

 

न्यू माइन्ड्स एकेडेमीको आयोजनामा केसीले गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीस्थित इष्टपोल स्कूलमा वक्तव्य दिएका थिए । राष्ट्रिय गौरवसँग जोडिएको यो अभियानलाई पूरा गर्न केसीले उभिएर तथा बसेर वक्तव्य दिएका न्यू माइन्ड्स एकेडेमीका अध्यक्ष कुमारराज सुवेदीले जानकारी दिए ।

 

निरन्तर ९० घण्टा दुई मिनेट बोलेर विश्व कीर्तिमान राखेका उनलाई गिनिज बुक अफ वल्र्ड रेकर्डका प्रतिनिधि सोप्नील डाङ्गारीकार, प्रदेश सांसद जीवन डङ्गोलले संयुक्तरूपमा प्रमाणपत्र वितरण गरे । नेपालको ७७ वटै जिल्ला र भारतको ६ प्रान्त गरी १२ हजार ५०० किलोमिटर पैदलयात्रा गरिसकेका केसी एक आध्यामिक साधक पनि हुन् ।

 

केसीले २१ दिन जल उपबास र ६ महिना मौन ध्यान साधना पूरा पनि गरेका छन् । उनले यसअघि ८० घण्टा लगातार वक्तव्य दिएर पनि प्राविधिक कारणले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सकेका थिएनन् । -रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!