बिमस्टेक बैठकः राष्ट्राध्यक्ष/सरकार प्रमुखको सम्मानमा रात्रिभोज

काठमाडौं, भदौ १४ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) देशका राष्ट्राध्यक्ष/सरकार प्रमुखको सम्मानमा प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले बिहीबार साँझ राजधानीमा रात्रिभोज आयोजना गरेका छन् ।

नेपालको कलासंस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रमका साथ आयोजित उक्त कार्यक्रममा सदस्य राष्ट्रका राष्ट्राध्यक्ष/सरकार प्रमुखका श्रीमान्/ श्रीमती सहभागी थिए । बिमस्टेकका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सदस्य देशका राष्ट्राध्यक्ष/सरकार प्रमुखलाई नेपालका पूर्वप्रधानमन्त्रीसँग परिचय गराएका थिए ।

रात्रिभोजमा बिम्स्टेक देशका विदेशमन्त्री, विदेश सचिवलगायत प्रतिनिधिमण्डलका सदस्य, कूटनीतिक नियोगका पदाधिकारी, वरिष्ठ सञ्चारकर्मीका साथै समाजका प्रतिष्ठित व्यक्तिको उपस्थिति थियो ।

त्यसअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनकी पत्नी सरस्वती अर्यालले विशिष्ट अतिथिको स्वागत गरेका थिए ।

कमेन्ट गर्नुहोस्