कनकाई सामुदायिक वन उत्कृष्ट

सुरुङ्गा, भदौ १४ । झापाको कनकाई सामुदायिक वन उपभोक्ता समूहले डढेलो नियन्त्रण, संरक्षण तथा वन व्यवस्थपनमा अतुलनीय योगदान पुर्याएवापत जिल्लामै उत्कृष्ट भएको छ । समूह प्रथम पुरस्कारसहित सम्मानित भएको छ ।

डिभिजन वन कार्यालय झापावाट चन्द्रगढीको मुना सामुदायिक भवनमा आयोजित सम्मान तथा राहत वितरण कार्यक्रममा कनकाई सामुदायिक वन उपभोक्ता समुहलाई नगद १० हजारसहित सम्मान पत्रले प्रदेश नं.१ का उद्योेग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव वद्रीराज ढुङ्गानाले सम्मान गरे ।

सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथीसमेत रहेका ढुङ्गानाले पहिले वन मासेर धान रोप्ने परम्परालाई तोड्दै अहिले धानवाली मासेर वन लगाउँन सुरु गरिएको स्मरण गर्दै सवै सामुदायिक वनका पदाधिकारी तथा उपभोक्ताहरुले वनमा चोरी निकासी रोक्न र डढेलो नियन्त्रणमा लाग्नु पर्ने बताए ।

कार्यक्रममा वन डढेलो नियन्त्रण तथा जनचेतना अभिवृद्धि गराउने कमलधाप, प्रजापति र हिमाल सामुदायिक वनसहित निजी वन सञ्चालन गर्ने पाँच जना कृषकलाई समेत सम्मानीत गरिएको थियो । झापामा जंगली हात्तीको आक्रमणवाट ज्यान गुमाउने तीन जनाको परिवारलाई नगद १०/१० लाखसहित राहत समेत वितरण गरिएको वताइएको छ ।

डिभिजन वन कार्यालय झापाका प्रमुख वोधराज सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल सरकारका उपसचिव रेवतीप्रसाद सापकोटा, महासंघकी केन्द्रिय सदस्य संगीता थापा, निजि वनका तर्फवाट दुर्गा प्रसाईं लगायतले मन्तव्य राखेका थिए । सामुदायिक वनका तर्फवाट सम्मानित कनकाई सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष ख्यामप्रसाद ओलीले सामुदायिक वनका उपभोक्ताहरुले झेल्दै आएका समस्याका वारेमा प्रष्ट पारेका थिए ।

कार्यक्रममा सामुदायिक वनलाई सधैं सहयोग गर्ने सहायक वन अधिकृत ओमनाथ भट्टराई, शिवराम शाह, सा.व.उ.महासंघकी केन्द्रीय सदस्य संगीता थापा, डिभिजन वनका प्रमुख वोधराज सुवेदी, नेपाल सरकारका उपसचिव सापकोटा लगायत प्रमुख अतिथि ढुङ्गानालाई कनकाई सामुदायिक वन उपभोक्ता समुहका तर्फवाट खादा ओढाएर कृतज्ञता प्रकट गरिएको थियो ।

झापाका धेरैवटा सामुदायिक वनका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको कार्यक्रमको व्यवस्थापन डिभिजन वन कार्यालय झापा र चन्द्रगडी सामुदायिक वनले गरेको वताइएको छ । सहायक वन अधिकृत नथुनी गोहीवार यादवले स्वागत गरेको कार्यक्रमको संचालन डिभिजन वन कार्यालय झापाका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!