सिंजालाई बल्ल आङ्गिक क्याम्पस सञ्चालनको अनुमति

सुर्खेत । तत्कालीन कर्णाली खस राज्यको राजधानी जुम्लाको सिंजाले यही भदौ १० गतेदेखि आङ्गिक ‘सिंजा बहुमुखी क्याम्पस’ पाएको छ ।

मध्यपश्चिम विश्वविद्यालयको आइतबार काठमाडौँमा बसेको आठौं सिनेट सभाबाट पश्चिम नेपालका आठवटा क्याम्पससँगै यसले आङ्गिक क्याम्पस सञ्चालनको अनुमति पाएको हो । यसले सिंजावासीलाई खुशी मात्र बनाएको छैन, उच्च शिक्षा प्राप्तिका लागि काठमाडौँ धाउनुपर्ने बाध्यताबाट मुक्ति पनि दिलाएको छ ।

तत्कालीन नेपाल एकीकरणका अभियन्ता पृथ्वीनाराण शाहका महिला राजकुमार बहादुर शाह नेतृत्वको फौजले विसं १८४६ मा बाइसे र चौबिसे राज्यमा शक्तिशाली मानिएको कर्णाली खस राज्यको राजधानी सिंजालाई अधीनमा लिएपछि अहिलेसम्म त्यहाँ पूर्वाधारका कुनै पनि ठूला संरचना बनेका छैनन् । सिंजा दरबारको संरक्षण त के अवशेषहरु खोज्नसमेत खासै चासो दिइएको पाइँदैन ।

पर्यटकीय केन्द्र राराको आकर्षणले नाग्म–गमगढी ९१ किलोमिटर सडक बनेको छ । त्यही सडकखण्डमा तत्कालीन कर्णाली खस राज्यको राजधानी अर्थात हालको सिंजा पर्दछ । सडक बनेको चार वर्ष भयो तर, कालोपत्र हुन सकेको छैन । स्वास्थ्य क्षेत्रको चौकी बाहेक अस्पताल भेटिँदैन । न त्यहाँ दीर्घकालीन सेवा दिने विद्युत् छ न त भरपर्दो सञ्चार सेवा नै ।

राज्य संयन्त्रका विशेष संरचना बन्न नसकेकै कारण सिंजाका नागरिकहरु सानो कामका लागि अहिले पनि केन्द्रकै मुख ताक्न बाध्य छन् । भाषा, साहित्य, कला, संस्कृति र सामरिक महत्वको सिंजाको इतिहास आजसम्म ओझेलमा छ ।

तत्कालीन सिंजाको संरचना ध्वस्त पारिएयता त्यो क्षेत्र शाह वंशीय शासकहरुको रोष र दमनको छायाँमै बाँच्न बाध्य भयो । सवा दुई शताब्दी भन्दा लामो कालखण्डसम्म विकासका गतिविधि कर्णालीमा भएनन् । कर्णालीको इतिहाससम्बन्धी जानकार रमानन्द आचार्यका अनुसार दुई–तीन पटकको कुटिल चालपछि मात्र गोर्खाली फौज राजधानी सिंजा कब्जा गर्न सफल भएको थियो । यद्यपि अन्तिम पटकको आक्रमणमा समेत तत्कालीन राजा शोभान शाहीले आत्मसमर्पण नगरी तिब्बततिर लागे । नरसंहार भयो ।

गोर्खालीहरुलाई त्यहाँका जनतालाई आफ्नो काबुमा लिन हम्मेहम्मे भएको थियो ।
“सिंजा अधीनमा लिएपछि पनि त्यहाँको शासक शरणमा नआएको ईखमा गोर्खाली राजाहरुको केन्द्रीकृत शासन प्रणालीले कर्णालीलाई सयौं वर्षसम्म दमन गरिरह्यो,” उनले भने– “केन्द्रले कर्णालीलाई प्रधान दुश्मनको व्यवहार गरेकै कारण आज पर्यन्त कर्णालीको अपेक्षित विकास हुन नसकेको हो ।”

इतिहाससम्बन्धी जानकार प्रेम कैदीले आफ्नो आलेखमा उल्लेख गर्नुभएको छ – “पूर्वीय जीवनमा हिन्दु र सिन्धु दुवै सभ्यताको जननी कर्णाली हो ।” योगी नरहरिनाथको कथनलाई उद्धृत गर्दै ‘सिन्धु र हिन्दु सभ्यता एवं धर्म, संस्कृति मात्र होइन, त्यसको पहिलो भाग मानव उत्पति कैलाश पर्वत कर्णालीको शिरमा छ’ भनी उहाँले वर्णन गरेका छन् । उनका अनुसार त्यति महत्वको पवित्र भूमिप्रति राज्यले निकै ठूलो अन्याय गरेको देखिन्छ ।

कनकासुन्दरी गाउँपालिका लुड्कुका गौरीलाल न्यौपाने भन्छन्, “राज्यको शासकको भूमिकामा रहेको गोर्खाले राणाकालीन समयसम्म पनि कर्णालीमा कडा प्रशासक पठाएर दबाउने काम गर्यो । जुम्लासहितको कर्णाली क्षेत्रलाई अभावग्रस्त बनाइरह्यो ।” कर्णालीसँग उतिबेलाको ईख साटेर पनि केन्द्रले यहाँको सर्वाङ्गीण विकासमा बिर्को लगाउने गरेको उनको आरोप छ ।

तत्कालीन संविधान सभाका सदस्य नरेश भण्डारीले सिंजामा क्याम्पस स्थापना गर्ने विषयको फाइल अघि बढाएर त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिन निकै कठिनाइ झेल्नुपरेको अनुभव सुनाए । फाइल स्वीकृत गराउँदा त्रिविका पदाधिकारीसँग जङ्गिएर “रक्सी भट्टी होइन, दुर्गम स्थानमा शिक्षालय खोल्दैछौं, नरोक्नुहोस्” भन्नुपरेको वाक्य आज पनि मानसपटलमा ताजा रहेको उनी स्मरण गरेका छन् ।

सिंजा जुम्लामा क्याम्पस स्थापनार्थ सम्बन्धन माग्नुहुने सभासद् भण्डारीका स्वकीय सचिव रहेका सिंजा गाउँपालिका निवासी तीर्थबहादुर नेपाल अहिले सिंजा बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख हुन्छ । उतिबेला क्याम्पस प्रमुख नेपालले मात्र एसएलसी गरेका थिए ।

सिंजा बहुमुखी क्याम्पस जुम्ला विसं २०६६ सालमा स्थापना भएको थियो । विसं २०६७ सालदेखि त्रिभुवन विश्वविद्यालयको सामुदायिक क्याम्पसका रुपमा यसले अध्ययन अध्यापनको काम गर्दै आएको क्याम्पस प्रमुख नेपालले जानकारी दिए ।

“स्नातक तहको क्याम्पस पाउन सिंजाले २२९ वर्ष कुर्नु परेछ,” उनले भने– “राजतन्त्रले गरेको नाकाबन्दी गणतन्त्रले खोल्यो । अझै यहाँ आवश्यक संरचना निर्माण हुन बाँकी नै छ ।”

उनका अनुसार शिक्षा र व्यवस्थापन संकाय सञ्चालनमा ल्याएको उक्त क्याम्पसमा हाल १५१ विद्यार्थी अध्ययन गरिरहेका छन् । यद्यपि जनशक्तिको अभावले दुईजना बाहेक १२ जनाले आंशिक कक्षा लिइरहेको उनको भनाइ छ । हाल जुम्ला, मुगु, कालिकोट र बाजुरा जिल्लाका विद्यार्थीहरु उक्त क्याम्पसमा अध्ययन गरिरहेका छन् ।

विश्व इतिहासमा अद्वितीय सभ्यता बोकेको कर्णाली माथि उठ्न नसक्नुमा राज्य नै दोषी रहेको कर्णालीवासीको दावी छ । कर्णाली आज पनि विकासको तिर्खाले व्याकुल छ । सिंजा बहुमुखी क्याम्पस जस्तै स्वास्थ्य, यातायात, विद्युत्, सञ्चार, खानेपानी लगायतका पूर्वाधारको उच्चतम विकासमा राज्यको ध्यान पुग्नुपर्ने उनीहरु बताउँछन् । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!