बद्री खनालको कमाउने धन्दा, भूकम्प पीडितको नाममा करोडौं ठगी

काठमाडौँ । मान्छेले पैसा कमाउनको लागि जुनसुकै हर्कत गर्नपछि नपर्ने ताजा उदाहरण काठमाडौँको नजिकै रहेको गोकर्णेश्वर नगरपालिका–१ मा बद्री खनाललाई हेरे पुग्छ ।

उनी कतिसम्म निच र गैर जिम्मेवारी रहेछन् भन्ने ताजा उदाहरण हेर्ने हो भने वीपी संग्रहालयको पूर्वपट्टि रहेको पाँच तले घरमा गएर हेर्दा सबै छर्लङ्ग हुन्छ ।

साविकको नयाँपाटी गाविस वडा नं २ हालको गोकर्णेश्वर नगरपालिका वडा नं १ ऐतिहासिक सुन्दरीजल बन्दी गृह (हाल बिपी संग्रहालय) मुनिको रुप्सेटारका एक स्थानीयले भूकम्पका नाममा करोडौँको खेती गरिरहेको रहस्यमय उद्घाटन भएको हो ।

विगतमा भूमाफियाका रुपमा सार्वजनिक जग्गासमेत व्यक्तिको नाममा दर्ता गरेर प्लटिङ गरी बेचेर करोडौँ कुम्ल्याएका बद्री खनाल नाम गरेका व्यक्तिले आफ्नो जग्गामा बनेको टहरामा विभिन्न जिल्लाबाट आएका भूकम्प पीडित राखेर भाडा लिँदै आएका छन् ।

ती टहरामा आफूले भूकम्पपीडित राखेर सामाजिक सेवाको काम गरेको भन्दै उनले विदेशी संस्थासँग मासिक हजारौँ डलर असुल्दै आएका छन् । विजेता एकता कम्युनिटीका नाममा उनले सामाजिक सेवा गरेको नाममा कमार्इ खाने भाँडो बनाएका हुन् ।

यस सम्बन्धी सूचना प्राप्त भएपछि स्थलगत समाचार संकलनका लागि सुन्दरीजल पुगेको यस समाचारदाताकै आँखा अगाडि युरोपियन मूलका विदेशी लिएर खनाल हिँड्दै थिए । स्थानीयवासीका अनुसार खनालका घरमा हप्तैपिच्छे नयाँ नयाँ विदेशी समूह आइरहेको हुन्छ । यसरी आउने विदेशीलाई यिनले सुन्दरीमाई होम स्टेका नाममा घरमा राख्ने गरेका छन् ।

उनका आफन्त विदेशमा रहेकाले तिनले डलरवादी संस्थासँग सम्पर्क गराइदिने गरेको स्थानीयवासीले बताएका छन् । यी भू माफियाले बच्चालाई पढाउने नाममा समेत करोडौँ कुम्ल्याउँछन् । यिनका घरमा हप्तैपिच्छे विदेशी कुइरे आउने गरेका छन् । विदेशी आउने दिन टोलभरिका बच्चा जम्मा गरेर स्थानीय सुसन भण्डारीले पढाउँछन् ।

ती कुइरे मार्फत् विदेशी संस्थाले भूकम्प पीडित र बच्चा पढाउने नाममा लगानी गर्छन् । माफिया खनालले यसका लागि संस्था नै खोलेका छन् ।

पहिले संस्थाको बोर्ड घरमा राखेपनि हाल हटाएर गुपचुप रुपमा डलर खेती गर्दै आएका छन् । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको सल्लाहमा बोर्ड हटाएर डलर खेती गरेका हुन् । त्यसवापत् ती जनप्रतिनिधिलाई पनि यिनले नजराना टक्र्याउने गरेका छन्।

उनको यो धन्दामा स्थानीय सरकार मौन रहनु अझ रहस्यपूर्ण छ ।

यो डलर खेतीका पछि एउटा गिरोह नै लागेको स्थानीयको भनाई छ । त्यससम्बन्धी प्रतिवेदन प्राप्त भएपछि हामी सार्वजनिक गर्दैै जानेछौँ ।

भूकम्प पीडित र बच्चाका नाममा डलर खेती गर्दै आएका खनालले गलत बाटोबाट कमाएको पैसाका आडमा स्थानीयवासीमाथि समेत थिचोमिचो गर्ने गरेका छन् । घरको ट्वाइलेटको ढल सिधै निकालेर राजकुलोमा हाली अरु घरका मानिसलाई बस्न नसक्ने बनाएका छन् ।

राजकुलोको पानी पहिले आफ्नो जग्गाको सीमाबाट जाने गरेकामा हाल एक स्थानीय सोझा वृद्धालाई फकाएर उनको जग्गाबाट पठाएका छन् । ती स्थानीयको घर नै डुबानमा पर्ने खतरा बढाएका छन् । पहिलेदेखि उद्दण्ड स्वभावका यी भूमाफियाले त्यस क्षेत्रमा आतंक नै मच्चाएका छन् ।

स्थानीय निकाय हुँदैदेखि साविकको नयाँपाटी गाविसको बजेटमा तर मार्न पल्केका यिनले खानेपानी योजना र सडकका नाममा समेत बजेट हिनामिना गरी कालोसूचीमा परेका थिए ।

यिनलाई उपभोक्ता समितिको अध्यक्ष बनाई बजेट बाँडेर खाने नयाँपाटी गाविसका तत्कालीन सचिव रामेश्वर धिमाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत तानिएका थिए । धिमालले अख्तियारमा समेत सेटिङ मिलाएर फुत्कन सफल भएकाले त्यसबेला यो घटना सार्वजनिक भएन ।

डेढ दशक अघि तिलगंगामा रहेको शान्ति सेवा गृह नामको संस्थाका पदाधिकारी सुन्दरीजल क्षेत्रमा जग्गा खोज्दै जाँदा खनालसँग सम्पर्क भयो । यिनले दलाली गरेर १० रोपनी जग्गा किनाए । त्यो सम्बन्धले यिनी शान्ति सेवा गृहको उपाध्यक्षसम्म बने ।

शान्ति सेवा गृह त्यही संस्था हो जसले अपांग राख्ने नाममा खेतीपाती गर्दै आएको छ । जग्गा मिलाएको सम्पर्कले उनी त्यो संस्थामा छिरे । शान्ति सेवा गृहका विषयमा खोज पत्रकारिता केन्द्रले समेत खोजी समाचार बनाएका थिए । जसमा करोडौँ भ्रष्टाचार भएको तथ्य सार्वजनिक भएको थियो । कृष्ण गुरुङले खनाललाई शान्ति सेवा गृहमा छिराएका थिए ।

संस्था खोलेर विदेशी भित्र्याउन पाए शान्ति सेवा गृहको जस्तै लूट मच्चाउन पाइने मनोकांक्षाले यिनले विजेता नामको संस्था खोलेका हुन् । संस्थाको अध्यक्ष खनाल आफैँ हुनुहुन्छ । महासचिव भने पवन भण्डारी रहेको उहाँले जानकारी दिए । शान्ति सेवा गृहको कार्य समितिमा नेपाली भएपनि यसको पृष्ठभूमिमा जर्मन नागरिक मारियाना नामकी महिला छिन् ।

त्यही संस्थामा गरेको भ्रष्टाचारले यिनले अहिले सुन्दरीजलमा पाँचतले भव्य महल ठड्याएका छन् । विदेश सामान पठाउन यिनले शुरुमा ठमेलमा कार्यालय खोले । त्यसपछि त्यो कार्यालय चुच्चेपाटी सर्यो । हाल चुच्चेपाटीबाट टहराकै एउटा कोठामा सारेका छन् । विदेश सामान पठाउने संस्थाको कम्पनी खोलेर कर तिर्नुपर्ने कानूनी व्यवस्थाको पनि खनालले उल्लंघन गरेका छन् ।

सामाजिक सेवाका नाममा आउने विदेशीले सामान ओसार पसार गर्छन् । कहिले स्वदेशीलाई पनि बाहिर जाने आउने क्रममा सामान ओसार पसारका लागि यिनले प्रयोग गर्ने गरेको स्थानीयले जनाएका छन् ।

स्थलगत समाचार संकलनका क्रममा संस्था जिल्ला प्रशासन कार्यालय र नगरपालिकामा समेत दर्ता भएर कर पनि तिरिरहेको खनालले दावी गरे । तर वडा अध्यक्ष राम मानन्धर भने कर नतिरेको बताउँछन् ।

“त्यो संस्था र खनालले गरेको क्रियाकलापका बारेमा पहिल्यैदेखि मलाई शंका थियो, केही समय अघि कोठा खाली गर्न प्रहरीसहित म जाँदा जीर्ण भवनमा बच्चा पढाउने गरेको देखेँ, संस्था दर्ता भए÷नभएको कार्यालय खुलेपछि अभिलेख हेर्नुपर्छ”–उनले भने।

वडा अध्यक्षलाई भने खनालले स्थानीय बच्चालाई निःशुल्क ट्युशन पढाउने गरेका बताएका रहेछन् । स्थानीयवासीका अनुसार भूकम्प पीडित बच्चाका नाममा उनले त्यहाँ बच्चा जम्मा गरी विदेशबाट आएको जडौरी कपडा बाँड्ने गरेका छन् । तिनका नाममा कति सहयोग लिएर खान्छन् । त्यसको कुनै पारदर्शिता छैन ।

खनालले कमाइ खाने भाँडो बनाएको टहरामा बस्ने भूकम्प अति प्रभावित सिन्धुपाल्चोक दुवाचौरकी माया तामाङ २०७४ साल वैशाखदेखि यहाँ बस्छिन् । एउटा कोठाको मासिक रु दुई हजार तिर्ने गरेको उनले सुनाइन् ।

यसैगरी यो टहरामा सुरेश तामाङ, महेश तामाङ, रामसिंह तामाङ लगायतको परिवार पनि यहाँ मासिक रु दुई हजार नै तिरेर बसिरहेका छन् । खनालले भने विदेशीसँग यी सबै भूकम्प प्रभावित जिल्लाका पीडित भएकाले बस्ने, खाने लगायत आधारभूत आवश्यकता पूर्ति गरिदिएको भनी सहयोग लिने गरेका छन् ।

तामाङ समुदायका यी सोझा नागरिकलाई आफ्ना नाममा यस किसिमको खेतीपाती भइरहेको छ भन्नेसम्म थाहा छैन । विदेशीले विपन्नवर्गका जनजातिका नाममा काम गर्ने भनी खुलेका संस्थालाई क्रिश्चियानिटी फैल्याउन सहयोग गर्ने गरेका छन् ।

राजधानीकै कुनामा खुलेका संस्था र होम स्टेमा विदेशी बसेर धर्मान्तरणका योजना बुनी रहँदा स्थानीय सरकार भने बेखबर रहेको वडा अध्यक्ष मानन्धरको भनाईले पुष्टि गर्छ । प्रदेश र संघीय सरकारको यहाँसम्म ध्यान जाने कुरै भएन ।

कसैको ध्यान नजाँदा खनालजस्ताको परिवार त सम्पन्न बन्ला । तर राष्ट्र र राष्ट्रियता भने कमजोर बन्ने निश्चित छ । कार्यालयमै बसेर करको दर कहाँ कहाँ बढाउन सकिन्छ भनेर लाग्ने स्थानीय तह भने आफ्नै कार्यक्षेत्रभित्र के भइरहेको छ भनी बेखबर रहनुले गाउँकै सिंहदरबारको कमजोरीका रुपमा लिन सकिन्छ ।

देशको टोल टोलमा हुने यस्ता घटनामा सबै तहका सरकारको ध्यान जानु जरुरी छ । अन्यथा दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाको भोगाई नेपालीले नभोग्नुपर्ला भन्न सकिन्न ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!