प्रचण्ड नेपालका सबैभन्दा लोकप्रिय नेता – बेलायत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डसँग बेलायतका दक्षिण एसिया विभाग प्रमुख ग्यारेथ बेलीले बिहीबार बिहान भेटवार्ता गरेका छन् ।

अध्यक्ष निवास खुमलटारमा भएको भेटमा नेपाल र बेलायतका बीच भएका सहयोग र सम्बन्धका बारेमा चर्चा भएको थियो ।

बेलीले आर्थिक समृद्धि र विकासबारेअध्यक्ष प्रचण्डसँग चासाे व्यक्त गरेपछि राजनीतिक परिवर्तन पश्चात देशमा आएको आर्थिक समृद्धिकाे लहर अाएकाे र त्यसका आधारबारे स्पष्ट पारेका थिए । प्रचण्डले भने, ‘नेपालमा लामो समय पश्चात राजनीतिक स्थिरता कायम भएको छ, यो नै नेपालको आर्थिक विकासका लागि सबैभन्दा बलियो आधार हो ।’

प्रचण्डले नेपालमा जलविद्युतको प्रचुर सम्भावना भएको बताउँदै विश्वका धेरै लगानीकर्ताहरु यहाँ लगानी गर्न इच्छुक रहेको बताए । उनले भने, ‘हामी लगानीकर्ताको सुरक्षा र लगानीको ग्यारेन्टी गर्न योजना बनाईरहेका छौं ।’

पर्यटनको उत्तिकै सम्भावना भएको उल्लेख गर्दै दुई ठूला जनसंख्या भएका देशका पर्यटकको गन्तव्य पछिल्ला दिनमा नेपालमा बढ्दै गएको उनको भनाई थियो । अध्यक्षले भने, ‘पर्यटन क्षेत्रको विकासका लागि भौतिक पूर्वाधारको निर्माण हाम्रो पहिलो शर्त हो ।’

भेटका अवसरमा प्रमुख बेलीले विश्वभरिमा सबैभन्दा प्रिय देश नेपाल भएकाले यहाँ लगानीकर्ताहरु आकर्षित भएको बताए ।

नेपालमा लगानी गर्न बेलायती लगानीकर्ताहरु इच्छुक रहेको उनको भनाई थियो । उनले सरकारलाई आफूहरुको पूर्ण समर्थन रहेको बताउँदै देशको विकास यो सरकारले नै गर्नेमा आफूहरु ढुक्क रहेको पनि बताए । प्रमुख बेलीले अध्यक्ष प्रचण्डलाई नेपालका सबैभन्दा लोकप्रिय नेताको संज्ञा दिँदै शान्ति प्रक्रियादेखि वर्तमान स्थिर सरकारसम्म विकसित राजनैतिक घटनाक्रममा नेतर्त्वदायिक भूमिका निभाएकाे भन्दै प्रशंसा गरे ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!