प्रधानमन्त्री मोदीको हत्याको षड्यन्त्र गरेको आरोपमा भएको गिरफ्तारीको चौतर्फी आलोचना

नयाँ दिल्ली, भदौ १३ । प्रधानमन्त्री मोदीको हत्याको षड्यन्त्र गरेको आरोपमा भारतभर गरिएको गिरफ्तारीको चौतर्फी आलोचना हुन थालेको छ ।

मंगलबार प्रहरीले क्रान्तिकारी कवि बरबर रावसहित छ जनालाई गिरफ्तार गरेको थियो।  गिरफ्तार हुनेमध्ये सामाजिक कार्यकर्ता, पत्रकार र प्राध्यापक रहेका छन् ।

प्रसिद्ध लेखिका अरुन्धती रायले यी गिरफ्तारीहरू खतरनाक संकेत रहेको बताएकी छिन् । उनले सरकार लोकप्रियता गुम्ने दरले आत्तिएको र देशभरिबाट वकिल, कवि, लेखक, अधिकारकर्मी बुद्धिजीवीहरूलाई उटपट्याङ आरोप लगाएर गिरफ्तार गर्न लागेको आरोप लगाएकी छिन् ।

एकातिर ‘मब लिंचिङ’ गर्नेहरू दिनदहाडै आम मानिसलाई धम्क्याउँदै हिंडिरहेको र अर्कोतिर सरकारको वैधानिक विरोध गर्नेहरू जेलमा कोचारिन थालेपछि भारत कुन दिशातिर जान थालेको प्रष्ट भएको रायको आरोप छ ।

त्यस्तै प्रसिद्ध पत्रकार राहुल पण्डिताले वर्तमान सरकार ‘पागलपन’को अवस्थामा पुगेको बताएका छन् । उनले वर्तमान सरकार नागरिक अधिकार समाप्त पार्न उद्द्यत रहेको उनको आरोप रहेको छ ।

भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धीले व्यंगात्मक शैलीमा ट्विट गर्दै अब भारतमा एकमात्र गैरसरकारी संस्था अस्तीत्वमा रहेन र त्यो राष्ट्रिय स्वयम् सेवक संघ- आरएसएस रहेको भन्दै सरकारले आफूविरुद्ध गुनासो गर्नेलाई जेलमा कोच्ने र गोली हान्न सरकारलाई भनेका छन् ।

महात्मा गान्धीका जीवनीकार रामचन्द्र गुहाले ट्विटमा भनेका छन्, “यदि महात्मा गान्धी जीवित भएको भए उनी आफ्नो कालो कोट लगाएर अदालतमा सुधा भारद्वाजको पैरवी गर्न जान्थे ।”

सुधा भारद्वाज प्रहरीले मंगलबार गिरफ्तार गरेकी एक सामाजिक कार्यकर्ता हुन् ।

प्रहरीले प्रधानमन्त्री मोदीको हत्याको षड्यन्त्र भैरहेको सूचना प्राप्त भएपछि प्रहरीले हैदराबाद, मुम्बई र दिल्ली, हैदराबाद र राँचीमा छापा मारेर ती गिरफ्तारी गरेको थियो ।

प्रहरीले कोरेगाँव भीमा काण्डको छानबिनको क्रममा एउटा संदिग्ध पत्र फेला परेको बताएको छ जसमा राजीव गान्धी हत्याकै शैलीमा प्रधानमन्त्री मोदीको पनि हत्या गर्ने भनिएको छ । आलोचकहरूले उक्त पत्रको विश्वस्नियातामाठी नै शंका रहेको बताएका छन् ।

गत जनवरीमा महाराष्ट्र राज्यको कोरेगाँव भीमा भन्ने स्थानमा दलितहरूको एउटा कार्यक्रममा भड्किएको हिँसाबारे छानबिनको क्रममा प्रहरीले मोदीको हत्याबारे रहस्य खुल्न आएको बताएको थियो ।

प्रहरीले उक्त हिँसामा भारतीय माओवादीको घुसपैठ रहेको बताउँदै आएको छ ।

कोरेगाँव भीमा भन्ने स्थानमा दलितहरूले दुई सय वर्षअघि महाराष्ट्रका पेसवा ब्राह्मणहरूको सेना विरुद्ध अंग्रेज सेनाको विजयलाई विजयोत्सवको रूपमा मनाउँदै आएका छन् । उक्त समय अंग्रेजहरूको तर्फबाट महार रेजिमेन्टले युद्धमा भाग लिएको थियो । महार महाराष्ट्रको सबैभन्दा ठुलो दलित समुदाय हो ।

 

 

कमेन्ट गर्नुहोस्