राष्ट्रिय सभाको विशेष समय; चर्चामा प्रकाण्ड, सुस्तादेखि हत्या बलात्कारसम्म

काठमाडौँ, भदौ १२ । राष्ट्रिय सभाको आजको बैठकमा सासदहरूले विविध विषयमा कुरा उठाएका छन् । यसमा नेकपा ‘विप्लव’ समुहका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ देखि देशभर सार्वजनिक भैरहेका हत्या र बलात्कारका घटनाहरूबारे चर्चा भएको छ ।

राष्ट्रिय सभाका सदस्य राधेश्याम अधिकारीले नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई अदालतको आदेशपछि पनि पटक-पटक थुनिएकोबारे सभालाई जानकारी गराएका थिए ।

सांसद अधिकारीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग गठन भए करका सम्बन्धमा देखिएका समस्या हुने भएकाले तत्काल यसमा ध्यान दिन समेत आग्रह गरे ।

अधिकारीले प्रधानमन्त्रीले सम्पादकसँग गरेको संवादको प्रसङ्ग उल्लेख गर्दै जनतामा निराशा छाएको र यसलाई हटाइ आशाको संचार गर्ने काम सरकारको रहेको बताए ।

त्यस्तै अधिकारीले नेकपा (माओवादी) का पूर्व लडाकू लेनिन विष्ट विदेश जाने बेलामा विमानस्थलबाट फर्काइएको घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै यसमा सामान्य नागरिकको मानवअधिकार हनन गरेको टिप्पणी गरेका थिए ।

सांसद् वृषेशचन्द्र लालले आपराधीलाई कानून र प्रहरीसँग डर नभएका कारण मुलुकभर महिलामाथि हिंसा बढ्दै गएकाले गृह मन्त्रालय गम्भीर हुनुपर्ने धारणा व्यक्त गरेका थिए । लालले अबोध बालबालिकामाथि बलात्कार र हत्या बढ्नु मुलुकका लागि गम्भीर चुनौती भएकाले यस्ता घटना हुन नदिन केकस्तो रणनीति छ भनेर गृहमन्त्रीले जानकारी गराउनुपर्ने माग गरेका थिए ।

सांसद् हरिचरण शिवकोटीले एकात्मक व्यवस्थामा बनेको कर्मचारीतन्त्रका कारण संविधानले अङ्गिकार गरेको समाजवाद उन्मुख समृद्धितर्फ जान कठिन भएको आरोप लगाएका थिए । मुलुकको आर्थिक अवस्थाअनुसर राजनीतिक नेतृत्वले कतिसम्म सुविधा लिन उचित हुन्छ भन्ने निश्चित गर्नुपर्ने गर्नुपर्नेमा जोड दिँदै शिवाकोटीले भने, “पूर्व पदाधिकारीले घरमा सुरक्षाकर्मी राखेर अधिकारको दुरुपयोग गरेका छन् ।”

सांसद् कोमल ओलीले आफू विदेशमा रहँदा त्यहाँ रहेका नेपाली नागरिकले मुलुकमा समृद्धिको चाहना राखेको र मुलुकमा राजीतिक स्थिरतापछि आशा पलाएको आफूले पाएको बताइन् ।

यहाँ हुन लागेको बिम्स्टेकको चौथो शिखर सम्मेलन मुलुकका लागि गौरवको विषय भएको र उक्त सम्मेलन सम्पर्कसञ्जालका दृष्टिले उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्दै ओलीले विदेशी विशिष्ट पाहुनाको आगमनले नेपालको पर्यटन क्षेत्रमा समेत टेवा पुग्ने धारणा व्यक्त गरिन् ।

सांसद् रामप्रित पाशवानले प्रदेशलाई दिएको अधिकारबारे ध्यानाकर्षण गराउँदै प्रदेश नं २ मा राजपत्रमा प्रकाशित गरी बकर इद र रक्षा बन्धनका दिन दिएका बिदा जनकपुरस्थित राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयकाले अवज्ञा गरेको घटनाले केन्द्रीय सरकारमा अझै पुरानतवादी सोच कायम रहेको देखिएको आरोप लगाए । पासवानको भनाइ थियो, “यस घटनाले सङ्घीयता कमजोर हुने देखिन्छ ।”

सांसद् रामलखन चमारले सुस्तावासीले भोगिरहेका समस्याबारे सरकारको ध्यानाकर्षण गराउँदै विकास निर्माणका काममा अनियमितता गर्नेलाई कारवाही गर्नका लागि प्रभावकारी अनुगमन टोली बनाउन माग गरे । बिम्स्टेक सम्मेलनमा भारतसँग भएका सम्झौता कार्यान्वयनका लागि सरकारले पहल गर्नुपर्र्नेमा पनि उनको जोड थियो ।

रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!