‘बानेश्वरको गाईजात्रा’ ले बानेश्वर सडकमा दर्शकलाई यसरी हँसाए

काठमाडौं, भदौ ११ । सोमबार ‘गाईजात्रा’ अवसरमा हरेक वर्षझै रेडियो अडियोले ‘बानेश्वरको गाईजात्रा’को आयोजना भव्यरुपमा सकिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको निर्माण कार्य भइरहेको हुँदा यसपटक देशका चर्चित हाँस्यकलाकारले बानेश्वरको सडकमा दर्शकहरुलाई मजाले हँसाए ।

सयौं दर्शकको उपस्थिति रहेको गाईजात्रामा दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे लगायतका हाँस्य कलाकारले आफ्नो प्रस्तुति दिएका थिए । उक्त कार्यक्रम प्रदर्शनको तयारीमा रहेका फिल्मको प्रचार गर्ने उपयुक्त मञ्च पनि बन्यो ।

भदौ २२ गतेबाट प्रदर्शनमा आउन लागेको ‘रामकहानी’ का लिड कलाकार जितु र केदारसँगै अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठले जमेर फिल्मको प्रचार गरे । फिल्ममा समावेश ‘तिम्रो लागि म छु’ बोलको हिट गीतमा उनीहरु कम्मर मर्काउन पनि पछि परेनन् ।


उता प्रदर्शनरत फिल्म ‘नाईं नभन्नू ल ५’ को प्रचार गर्न बाल कलाकार द्वय अनुभव रेग्मी र सेड्रिना शर्मा पनि गाईजात्रा समारोहमा पुगेका थिए । दुवैले दर्शकलाई फिल्म हेर्न निम्तो दिँदै ‘बालापन’ गीतमा ठुम्का लगाए । उनीहरुलाई देखेपछि दर्शकले हुटिङ गरेका थिए ।

यस्तै, हाँस्य कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले हास्य व्यंग्य प्रस्तुत गर्दै ‘छक्का पञ्जा ३’ दशैंमा प्रदर्शन हुने जानकारी दिए । दुईले जितु र केदारको साथमा फिल्ममा समावेश ‘पहिलो नम्बरमा’ गीतमा आफूसँगै दर्शकलाई पनि नचाए ।

कमेन्ट गर्नुहोस्