‘बालबालिका सम्बन्धी विधेयक, २०७५’ लगायत प्रस्तावहरू राष्ट्रिय सभामा पेस

काठमाडौँ, भदौ १२ । राष्ट्रियसभाको आजको बैठकमा ‘बालबालिका सम्बन्धी विधेयक, २०७५’ पेश गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले उक्त विधेयक पेश गरेका हुन् ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालद्वारा प्रस्तुत प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बैठकले स्वीकृत गरेको थियो ।

मन्त्री ढकालले संविधान, सर्वोच्च अदालतको नजिर र अन्तर्राष्ट्रिय सन्धि सम्झौतालाई आधार बनाएर विधेयक संशोधन गरिएको बताउँदै विधेयकलाई सकारात्मक रुपमा अगाडि बढाउन आग्रह गरे ।

प्रस्तावको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद रामनारायण विडारीले सरकार, प्रहरी तथा प्रशासनलाई कर्तव्यबोध गराउनका लागि र राज्यले अनाहकमा दिने याताना रोक्नका लागि आएको संशोधन ठिक रहेको विचार व्यक्त गरेका थिए ।

सांसद् राधेश्याम अधिकारीले नेपालको संविधान, सर्वोच्च अदालतले प्रतिपादन गरेको सिद्धान्त, कानूनको सर्वमान्य सिद्धान्तअनुसार सामाजिक सुरक्षा विधेयक संशोधन गर्नुपरेको धारणा व्यक्त गरे ।

त्यस्तै बैठकले कानूनमन्त्री ढकालले प्रस्तुत गर्नुभएको ‘अपराध पीडित संरक्षण विधेयक, २०७५’ माथि दफाबार छलफलका लागि विधायन समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्विकृति दियो.।

बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘महालेखा परीक्षकको ५५ औँ वार्षिक प्रतिवेदन, २०७४’ पेश गरेका थिए । राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘अन्तर्राष्ट्रिय आतङ्कवाद, अन्तरदेशीय सङ्गठित अपराध र अवैध लागू औषध कारोवारविरुद्ध सहयोग सम्बन्धी बिम्स्टेक महासन्धि’ टेबुल गरेका थिए ।

रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!