खुलामञ्चमा सारिएको बसपार्क चार दिन बन्द हुने

काठमाडौँ, भदौ १२ । पुरानो बसपार्कबाट खुलामञ्चमा सारिएको बसपार्क चार दिनका लागि बन्द गरिएको छ । वर्षातको पानी र अत्यधिक सवारीसाधन आवागमनका कारण भत्किएको खुलामञ्च मर्मत सम्भार गर्नुपर्ने भएकाले आजदेखि चार दिनका लागि बन्द गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले जानकारी दिए ।

अरनिको राजमार्ग हुँदै खुलामञ्च आउने सवारीसाधनलाई कोटेश्वर, सातदोबाटो, कलङ्की हुँदै नयाँ बसपार्क जाने व्यवस्था मिलाइएको उनले बताए । यसैगरी चावहिल, बौद्ध, साँखु, थानकोट, कीर्तिपुर, दक्षिणकालीलगायतका ठाँउबाट आउने सवारीसाधनलाई रत्नापार्कमा यात्रु आराल्ने तथा बसाउने व्यवस्था मिलाइएको छ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) सम्मेलनका क्रममा सवारीसाधनको आगमनलाई सहज बनाउन उपत्यकामा चल्ने सवारीसाधनमा जोर तथा बिजोर प्रणाली लागू गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिमस्टेक सम्मेलनमा सहभागी हुन आउने विदेशी विशिष्ट अतिथीको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउनका लागि सम्पूर्ण निजी तथा भाडाका सवारीसाधनलाई जोर बिजोर प्रणाली लागू गर्न लागेको जनाएको छ ।

महाशाखाका अनुसार यही भदौ १३ देखि १५ गतेसम्म उक्त प्रणाली लागू हुनेछ । भदौ १३ र १५ गते सवारीसाधनको नम्बर प्लेटको अन्तिममा बिजोर नम्बर भएका सवारीसाधन तथा भदौ १४ गते जोर नम्बर भएका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिमस्टेक सम्मेलनमा आकस्मिक बाहेकका सबै सवारीसाधनका लागि जोर बिजोर प्रणाली लागू गरिएको छ ।

काठमाडौँ उपत्यकामा हाल आठ लाखभन्दा बढी सवारीसाधन सञ्चालनमा छन् । धेरै सवारीसाधन ओहोरदोहोर गर्दा बिमस्टेक सम्मेलनमा आउने पाहुनाको आवागमनमा अप्ठ्यारो पर्ने भएकाले महाशाखाले उक्त प्रणाली लागू गर्न लागेको हो । –रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!