भारतीय मिडियामा यस कारण भयो नेपालको चर्चा, दक्षिण एसियामै पहिलोपल्ट सुरु भयो यो सेवा

काठमाडौँ, भदौ ११ । समान्यतया हाम्रो सोच के जान्छ भने नेपाल प्रविधिमा अरू देशभन्दा निकै पछाडी छ र हामी कहाँ उपलब्ध रहेको प्रविधि अन्य देशका नागरिकहरूले वर्षौं पहिले उपयोग गरिसकेका हुन्छन् । तर यो सबै अवस्थामा साँचो भने होइन । दक्षिण एसियामा हेर्ने हो भने नेपालले पनि कयौं कुराहरूको सुरुवात गरेको इतिहास छ । संचार क्षेत्रमा मात्रै तेस्रो पुस्ताको टेलिफोन सेवा थ्री-जी पहिलो चोटि नेपालमै भित्रिएको हो ।

त्यस्तै एउटा अर्को प्रयोगमा नेपाल दक्षिण एसियामै पहिलो भएको छ । त्यो हो डिजिटल रेस्टुरेन्ट । राजधानीको दरबार मार्गस्थित नौलो रेस्टुरेन्टमा रोबोटले सेवा दिन थालेको समाचार नेपालमा मात्र हैन भारतका मिडियामा पनि प्रमुखताका साथ प्रकाशित गरेको छ ।

विशेष गरी ग्राहक सेवामा प्रयोग भएका पाँच वटा रोबोटका बारेमा ‘पन्जाब केसरी’ लेख्दछ, “आर्टिफिसियल इन्टेलिजेन्स या एआईप्रविधिमा काम गर्ने यी रोबोटहरूले अर्डर लिने, खाना पस्किने गर्नुका साथै ग्राहकहरूसँग नेपाली र अंग्रेजीमा कुराकानी समेत गर्न सक्छन् ।”

‘दैनिक भास्कर’ले पनि नेपालमै स्थानीय युवाहरूले डेढ करोड रुपैयाँको लगानीमा निर्माण गरेका ती रोबोटहरूले चुटकिला भन्न सक्ने र बुद्धिमत्तापूर्ण ढङ्गले प्रश्नहरूको उत्तर दिनसक्ने लेखेको छ ।

त्यस्तै ‘न्युजट्रयाक’का लागि मनाली रस्तोगी लेख्छिन्, “नेपालका केटाकेटीलाई भारतका होटल र खाजा पसलहरूमा काम गर्नु सामान्य कुरा हो । नेपालमा उनीहरूका लागि रोजगार उपलब्ध छैन। कान्छा र बहादुर नामले बोलाइने नेपाली केटाहरूलाई भारतका अधिकांश होटल तथा रेस्टुरेन्टहरूमा फेला पार्न सकिन्छ । तर नेपालको लागि गर्वको कुरा के छ भने यस देशका छ जना युवा मिलेर एउटा यस्तो रेस्टुरेन्ट खोलेका छन् जहाँ कान्छा या बहादुर हैन बरू उन्नत प्रविधिद्वारा निर्मित छ रोबोटहरू काम गर्दछन्।

चिनियाँ समाचार संस्था सिन्ह्वालाई उद्धृत गर्दै एनडीटिभीले ‘मेड इन नेपाल’ रोबोटहरू यस हिमाली देशमा मात्र हैन दक्षिण एसियामा नै पहिलोपल्ट हो ।

त्यस्तै एबिपिटिभीको माउसंस्था ‘आनन्दबजार पत्रिका’को बांग्ला संस्करणमा समेत शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई रोबोटले सेवा प्रदान गर्दै गरेको तस्बिरका साथ समाचार प्रकाशित गरेको छ ।

यस रेस्टुरेन्टमा प्रयोग भएका पाँचओटै रोबोटहरू पाइला टेक्नोलोजीले नेपालमै निर्माण गरेको हो। भारतीय मिडियाहरूमा उक्त कम्पनीका इन्जिनियरहरूले आफ्नो अध्ययन भारतमा गरेको भनेर समेत समाचार छापिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!