सभामुख महराद्वारा तेक्वान्दो खेलाडीहरुलाई विदाइ

काठमाडौं, भदौ ११ । सभामुख कृष्णबहादुर महराले ग्लोबल तेक्वान्दो डेमोस्टेशन प्रतियोगितामा भाग लिन दक्षिण कोरिया जान लागेका तेक्वान्दो खेलाडीलाई विदाई गरेका छन् ।

सोमबार बिहान सभामुखको सरकारी निवास वालुवाटारमा एक कार्यक्रमको आयोजना गरी नेपाल तेक्वान्दो संघका खेलाडी टोलीलाई सभामुख महराले विदाई गरेका हुन् ।

टोलीलाई अबिर माला लगाएर विदाई गर्दै सभामुख महराले तेक्वान्दो खेलमा उच्च क्षमता प्रदर्शन गरी नेपालको नाम विश्वमा चिनाउन खेलाडीहरुलाई आग्रह गरे ।

‘तपाईंहरु नेपालको तर्फबाट तेक्वान्दो खेल्न जाँदै हुनुहुन्छ, उनले भने, ‘उच्च क्षमता प्रदर्शन गरी खेलमा विजय हासिल गर्नुहोस्, तपाईंहरुको सफलता सिंगो देशकै सफलता हुने छ । तपाईंहरुलाई सफलताको लागि मेरो हार्दिक शुभकामना छ ।’

खेल क्षेत्रको सफलता मिले नेपाललाई विश्वमा चिनाउन सकिने भन्दै सभामुख महराले राज्यले खेल क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए ।

विश्व तेक्वान्दो महासंघको आयोजनामा यही अगष्ट २९ देखि सेप्टेम्बर ४ सम्म दक्षिण कोरियामा हुन लागेको ग्लोबल तेक्वान्दो डेमोस्टेसन प्रतियोगितामा नेपाल तेक्वान्दो संघको टोली सहभागी हुन लागेको हो ।

सोमबार २ बजे दक्षिण कोरियातर्फ जान लागेको टोलीमा प्रशिक्षक, क्याप्टेनसहित २० जना सहभागी रहेका छन् ।

कमेन्ट गर्नुहोस्