एसिया कप छनोटका लागि नेपाली टोली आज मलेसिया जाँदै, कस्तो आउला नतिजा ?

काठमाडौं, भदौ ११ । दुर्इ दिनपछि सुरु हुने एसिया कप छनोट क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज मलेसिया प्रस्थान गर्न लागेको छ । प्रतियोगिताको अभ्यास खेलका लागि श्रीलंकामा रहेको नेपाली टोली आज विहान १० बजे उतैबाट मलेसिया प्रस्थान गर्न लागेको हो ।

यो प्रतियोगितामा जित हासिल गर्न सके नेपालले भारत र पाकिस्तानजस्ता मुलुकको सिनियर टोलीबिरूद्द खेल्न पाउनेछ । टोलीका मुख्य सदस्य सन्दीप लामिछाने पनि क्यारेवियन प्रिमयर लिग (सीपीएल) छाडेर मंगलबार सिधै मलेसिया पुग्ने टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए ।

नेपालले बुधबार ओमानसँगको खेलसँगै एसिया कप छनोट प्रतियोगिताको सुरुआत गर्नेछ । प्रतियोगितामा नेपाल र ओमानसँगै सिंगापुर, हङकङ, आयोजक मलेसिया र युएई छन् । नेपालले भदौ १४ गते युएईसँग, १६ गते मलेसियासँग, १७ गते सिंगापुरसँग र १९ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।

राउण्ड रोविन प्रणालीअनुसार हुने खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । त्यसको विजयी टोलीले आसन्न एसिया कपको समूह बी मा रहेर खेल्नेछ । जहाँ एशियाका महारथी टोलीहरु भारत र पाकिस्तान छन् ।

कमेन्ट गर्नुहोस्