प्रचण्डको प्रशंसा गर्दै अमेरिकाले भन्यो– ‘नेपालको शान्ति प्रक्रिया र संविधान निर्माण विश्वका लागि मोडल’

काठमाडौं, भदौ १० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डसँग अमेरिकी दक्षिण तथा मध्य एसिया मामिला उपसहायक मन्त्री एलिस जि वेल्सले भेट गरेका छन् ।

आइतवार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटमा नेपालको आर्थिक समृद्धिमा अमेरिकी सहयोग र समर्थन बारे चर्चा भएको थियो । अध्यक्ष प्रचण्डले भने, ‘नेपालको शान्ति प्रक्रिया, गणतन्त्रको घोषणा र संविधान निर्माण हुँदै त्यसको सफल कार्यान्वयनमा अमेरिकी जनता र सरकारको सद्भावका लागि धन्यवाद छ ।’

प्रचण्डले ७० वर्षदेखिको राजनीतिक अस्थिरताको अन्त्य गरी स्थिरता कायम गरेको बताउँदै अब आफूहरु आर्थिक समृद्धिमा लागेको स्पष्ट पारे ।

भौतिक पूर्वाधारको निर्माण, पर्यटन क्षेत्रको विकास, जलविद्युत उत्पादन र कृषिमा आधारित उद्योगको विकासमा अमेरिकी सहयोग आवश्यक रहने अध्यक्ष प्रचण्डको भनाई थियो । उनले त्यसको लागि लगानीको सुरक्षा गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

प्रचण्डले भने, ‘नेपालमा हुन लागेको बिमस्टेक सम्मेलन आर्थिक विकासका लागि सहयोगीसिद्ध हुनेछ ।’ उनले शान्ति, समृद्धि र लोकतन्त्र प्रति आफूहरु प्रतिवद्ध रहेको बताउँँदै संसारमा स्थापित लोकतन्त्रको मान्यता अनुसरण गरिएको बताए ।

भेटका अवसरमा मन्त्री वेल्सले नेपालको राजनीतिक स्थायित्वमा महत्वपूर्ण योगदान रहेको भन्दै अध्यक्ष प्रचण्डको प्रशंसा गरे । उनले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माण विश्वका लागि मोडल भएको बताए ।

नेपाल र अमेरिकाको द्विपक्षीय सम्बन्ध राम्रो रहेको मन्त्री वेल्सको धारणा थियो । उनले वर्तमान स्थायी सरकार नेपालको आर्थिक समृद्धिका लागि गतिलो आधार भएको बताए । उनले साइबर सुरक्षा र प्रकोप नियन्त्रणमा आफूहरु सहयोग गर्न इच्छुक रहेको बताए ।

मन्त्री वेल्स भने, ‘नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न देश हो । यहाँ धेरै सम्भावनाहरु रहेका छन् ।’

कमेन्ट गर्नुहोस्

error: Content is protected !!