Breaking: कञ्चनपुरका पूर्व एसपी निलम्बनमा

काठमाडौं, भदौ ९ । गृहमन्त्रालयले कञ्चनपुर पूर्व प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई निलम्बन गरेको छ । भीमदत्त नगर २ कि १३ वर्षीया किशोरी बलात्कार पछि हत्या प्रकरणमा लामो समयसम्म उचित छानविन नगरेको भन्दै गृहमन्त्रालयले बिहीबार काठमाडौ बोलाएको थियो ।

शनिबार गृहमन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो।

गृहमन्त्री रामबहादुर ‘बादल’, सचिव र तीनवटै सुरक्षा निकायका प्रमुखसहित बसेको बैठकले बलात्कारपछि हत्याप्रकरणको विस्तृत छानबिनको तथ्य बाहिर नआएसम्मका लागि एसपी विष्टलाई निलम्बन गर्ने निर्णय गरेको हो।

बलात्कारपछि हत्या घटनामा एसपी विष्टको भूमिका शंकास्पद देखिएको र घटनाको अनुसन्धानमा तदारुकता नदेखाएको भन्दै निलम्बन गर्नुपर्ने अवस्था आएको गृहले जनाएको छ।

त्यस्तै बैठकले तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णकुमार खड्का, डीएसपी ज्ञानबहादुर सेठ्ठी र मुद्दा शाखाका प्रहरी निरीक्षक यकेन्द्र खड्कालाई छानबिनका लागि केन्द्रमा तान्ने निर्णयसमेत गरेको छ ।

घटनामा एसपी विष्टका छोराको पनि नाम जोडिपछि घटना थप रहस्यमय बनेको छ । त्यस विषयमा छानविन गर्न गहृमन्त्रालयले उनलाई निलम्बन गरेको गृहमन्त्री रामबहादुर थापाका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!