निर्मला हत्या प्रकरण: साथी रोशनी र उनकी दिदी बबिता पक्राउ

भीमदत्तनगर, भदौ ९ । १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्यामा संग्लनताको आशंकामा प्रहरीले निर्मलाकी साथी भनिएकाी १४ वर्षीया रोशनी बम र उनकी दिदी १९ वर्षीया बबिता बमलाई पक्राउ गरेको छ ।

साउन १० गते निर्मला साथी रोशनीको घरमा गृहकार्य गर्न र नोटबुक लिनका लागि गएकी तर राती अबेरसम्म नफर्किएपछि खोजी गर्दा भोलि पल्ट (साउन ११) गते उखुबारीमा उनको शव भेटिएको थियो । निर्मलाको बलात्कारपछि हत्याको आशंकामा बम दिदीबहिनीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

स्थानीयले पनि बम दिदीबहिनीलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने माग गर्दै आएका थिए । बम दिदीबहिनीका बुबाआमा दार्चुला रहेकाले दुई तले घरमा उनीहरु एक्लै बस्ने गरेको स्थानीयहरु बताउँछन् ।

स्थानीयले कञ्चनपुरका तत्कालीन एसपी डिल्लिराज बिष्टका छोरा र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजालाई पनि पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै आएका छन् ।

निर्मलाकी आमा दुर्गादेवी पन्त अबेरसम्म छोरी नफर्किएपछि रोशनीको घरमा गएकी तर छोरीको बारेमा रोशनीसँग सोधखोज गर्दा उनकी दिदी बविताले आफूलाई हकारेको दुर्गाको भनाई छ । ‘तिम्री छोरी कहाँ गई हाम्ले ठेक्का लिएका छौँ’ दुर्गाले भनिन्, ‘कतै पोइला गई कि ? आफ्नो माल कस्तो छ हेर्नु छैन । हाम्लाई आरोप लगाउने भन्दै बबिताले मलाई हकारिन ।’

छोरीलाई राख्न आफूलाई झुट बोलेका हुन सक्ने भन्दै आफूले भित्र हेर्न खोजे पनि भित्र पस्न नदिएको उनले बताइन । ‘पहिलो पटक एक्लै गएकी थिएँ । रोशनीले त निर्मला गइहाली भनिन्’ दुर्गाले भनिन्, ‘भित्र हेर्न त मन थियो तर बबिताले हकारेपछि त्यसै फर्किएँ ।’

फर्किएर घर पुग्दा पनि निर्मला नआएपछि उनी फेरि छिमेकीसँग रोशनीको घर पुग्नुभयो । यो पटक पनि बबिताले त्यसरी नै हकारेपछि उनले रोशनीको घरमा निर्मला भए नभएको हेर्दिनका लागि नजिकको अस्थायी प्रहरी चौकीमा सहयोगका लागि गएकी तर प्रहरीले पनि सहयोग नगरेको उनको गुनासो छ ।

‘मलाई किन–किन छोरी भित्रै छ जस्तो लागेर रोशनीको घरभित्रै हेर्ने मन थियो’, उनले भनिन, ‘तर प्रहरीले पनि रातिमा अरुको घरभित्र हेर्न मिल्दैन भन्दै टार्यो ।’ सँगै पढ्ने साथी हराउँदा खोज्न जानु त परको कुरा उल्टै परिवारलाई हकारेपछि छरछिमेकीले पनि रोशनीको परिवारमाथि शंका गरेका छन् ।

उनीहरुले साउन ११ गते निम्बुखेडा खोलामा निर्मलाको साइकल भेटिएपछि बबिताले साइकल भेटिए शव पनि त्यहीँ वरपर हुन सक्ने बताएको भन्दै त्यसले अझ सशंकित बनाएको बताएका छन् । निर्मलाको शव भेटिएपछि पनि रोशनी र बबिता घटनास्थल नगएको परिवार तथा आफन्तको भनाई छ ।

कमेन्ट गर्नुहोस्