सांसद भट्टद्वारा मृतकका परिवारलाई १० लाख क्षतिपूर्ति र न्यायिक आयोग गठनको माग

काठमाडौं, भदौ ९ । कञ्चनपुरबाट प्रतिनिधि सभा चुनावमा निर्वाचीत भएका दिपकप्रकाश भट्टले १३ वर्षीया बालिका निर्मला पन्तको उच्चस्तरीय न्यायिक छाबीनकाे माग गरेका छन् । शनिबार उनले एक सार्वजनिक विज्ञप्ति जारी गर्दै घटनाको यथार्थ छानबीनको माग गरेका हुन् । साथै, उनले मृतकका परिवारलाई १० लाख क्षतिपूर्ति र घाइतेहरुको उपचारको सम्पूर्ण जिम्मेवारी लिन सरकारलाई अनुरोध गरेका छन् ।

साथै, सांसद भट्टले बालिका पन्तमाथि भएको घटनाको सांसद भट्टले निन्दा गरेका छन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘भीमदत्तनगरपालिका २ कि बालिका निर्मला पन्तको अमानवीय र पाशविक ढंगले बलात्कारपछि हत्या भएको घटनाको जति निन्दा गरेपनि कम हुन्छ ।’ सांसद भट्टले निर्मला पन्तको घटनाको पीडाबोधले छटपटिएको बेला पन्तको हत्यापछि विकसित भएका घटनाहरुले झनै पीडा थपेको बताएका छन् ।

निर्मलाको हत्या भएलगत्तै व्यवस्थापिका संसदमा हत्याराको खोजी गरी कार्वाही गर्न सरकारको ध्यानाकर्षणका साथै गृहमन्त्रीलाई समेत घटनालाई संवेदनशीलरुपमा लिएर उचित कदम चाल्न माग गरिएको पनि उनले स्मरण गराएका छन् । यद्यपि, सरकारले यो घटनाको वेवास्था गरेको सांसद भट्ले आरोप लगाएका छन् । उनले भने,‘सरकारका तर्फबाट घटनालाई पर्याप्त संवेदनशीलताकासाथ नलिएको कारण अहिले कञ्चनपुरमा अनपेक्षित घटनाक्रमको विकास भएको छ ।’

शुक्रबार मात्रै आन्दोलकारीमाथि प्रहरीले गोली चलाउँदा एक बालकको ज्यान गएको थियो । सांसद भट्टले घटनाप्रति गहिरो दुख व्यक्त गर्दै मृतकप्रति श्रद्धान्जली तथा शोकसंन्तप्त परिवार तथा आफन्तजनहरुमा धैर्यधारणका लागि र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

यस्तै, सांसद भट्टले अहिले पनि यो स्थितिलाई गम्भीरतापूर्वक लिन सकिएन र सुरक्षा संयन्त्रलाई आन्तरिक कमाण्ड मजबूत पारेर परिचालन गर्न सकिएन भने दुखद घटना पुनरावृत्ति हुने सम्भावना जीवितै रहेको बताए । त्यसकारण हत्याराको खोजी गर्न उच्चस्तरीय न्यायिक छानबीन समितिको गठन गर्न सरकार समक्ष माग गर्दछु उनले भने। हेर्नुस् सांसद भट्टले जारी गरेको विज्ञप्ति- 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!