निर्मलाका हत्यारा उम्किन नपाउन, सुरक्षाकर्मीले संयमता अपनाउनु जरुरी– मन्त्री बीना मगर

काठमाडौं, खानेपानी मन्त्री बीना मगरले कञ्चनपुरको भीमदत्त नगरपालिकामा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाउन सरकारसमक्ष माग गरेकी छिन् ।

गैर आवासीय संघले आयोजना गरेको मध्यपूर्व एनआरएन भेलाको क्रममा संयुक्त अरब इमिरेट्समा रहनु भएकी मन्त्री मगरले एक कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले हत्यार पत्ता लगाएर कार्वाही गर्नुपर्ने माग गरेकी हुन ।

“म सरकारको मन्त्री भन्दा पहिला कञ्चनपुरको निर्वाचित प्रतिनिधि हुँ, त्यसैले सरकारले कञ्चनपुरको घटनालाई गम्भीरतापूर्वक लिनुपर्छ ।” मन्त्री मगरले भनिन, “निर्मलाको हत्याले हामी सबै स्तब्ध छौं, फेरी पनि आन्दोलनमा बल प्रयोग हुँदा थप मृत्यु हुँदा पीडा थपेको छ । सरकारले यो विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ ।”

निर्मला पन्तको हत्या भएलगत्तै सात नम्बर प्रदेशका जनप्रतिनिधिको नेतृत्व गर्दै गृहमन्त्रीलाई भेटेर तत्काल अनुसन्धानको कार्य अघि बढाउन र हत्याराको खोजी गरी कार्वाही गर्न माग गरेको बताउँदै मन्त्री मगरले गृह प्रशासनबाट घटनालाई गम्भीरतापूर्वक लिनुपर्ने माग गर्नुभयो ।

“बलात्कारपछि हत्याको घटनालार्ई अवसरको रुपमा प्रयोग गर्ने सम्भावना प्रति सचेत हुनुपर्छ ।” मन्त्री मगरले भन्नभयो, “तर आम सर्वसाधारणले सरकारबाट वास्तविक दोषीलाई खोजी गरी कार्वाही गर्नुपर्ने आशा गरेका छन् । यो कुरामा गृह मन्त्रालय सचेत हुनुपर्छ ।”

कञ्चनपुरका आन्दोलनमा चर्किएपछि प्रहरीको गोली लागेर एकजना बालकको मृत्यु भएको सुन्दा आफू झनै स्त्बध भएको बताउँदै मन्त्री मगरले सुरक्षा निकायलाई आन्दोलनमा आक्रामक नहुन समेत आग्रह गर्नुभयो । मन्त्री मगरले आन्दोलनकारी र सुरक्षा निकाय दुबैलाई संयमित हुन अपील गर्दै पीडामाथि थप पीडाको वातावरण सिर्जना नगर्न अपील गर्नुभयो । “जनता पीडामा छन्, उनीहरुले न्याय खोजेका छन्, यो संवेदनशीलतालाई बुझेर सुरक्षाकर्मीहरुले सुरक्षाका उपाय अपनाउनु पर्छ, आन्दोलन अराजक हुन नदिन आम जनताले विशेष सतर्कता अपनउनु जरुरी भएसँगै आन्दोलनमा अनावश्यक बल प्रयोग रोक्नेतर्फ सुरक्षाकर्मीले संयमता देखाउनु जरुरी छ ।”

गृह मन्त्रालयले सहसचिवको नेतृत्वका छानबीन समिति गठन गरेपछि स्थिति सामान्य हुने आँकलन गरेपनि आन्दोलनमा बल प्रयोग भएपछि असामान्य अवस्था बनेको कारण आफू चिन्तित भएको वहाँले बताउनु भयो । “म कार्यक्रम छोट्टयार छिटै नेपाल जाने योजनामा छु ।” मन्त्री मगरले भन्नुभयो, “सरकारमा कञ्चनपुरको प्रतिनिधि भएको नाताले निर्मलालाई न्याय दिन र जनताको मनोभावलाई सम्बोधन गर्न मैले भूमिका निर्वाह गर्नेछु ।”

कमेन्ट गर्नुहोस्

error: Content is protected !!