कांग्रेसको विधान संशोधन मस्यौदा समिति गठन

काठमाडौं, भदौ ८ । नेपाली कांग्रेसले आफ्नो दलको विधान संशोधन मस्यौदा समिति गठन गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेका छन् । मस्यौदा समितिलाई आज शुक्रबार बस्ने केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने भएको छ ।

मुलुकको नयाँ संघीय संरचनाअनुसार संगठनात्मक संरचनाहरुलाई पुनर्संरचना गर्नका लागि पार्टीको विधानमा आवश्यक संशोधन र परिमार्जन गर्न गठित ११ सदस्यीय समितिमा केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल, फरमुल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडु, महालक्ष्मी उपाध्याय, आनन्दप्रसाद ढुंगाना, नवीन्द्रराज जोशी, सीता गुरुङ, प्रदीप पौडेल र रमेश लेखक सदस्य रहेका छन् ।

गत वैशाखमा सम्पन्न केन्द्रीय कार्यसमितिको निर्णयअनुसार बिहीबार सभापति देउवाले विधान मस्यौदा समिति गठन गर्नुभएको हो । संविधानअनुसार पार्टीको संगठनात्मक पुनर्संरचना गर्न विधान संशोधन गर्नुपर्ने भन्दै महासमिति बैठक आव्हान गर्न कांग्रेस नेतृत्वलाई दबाब बढिरहेको थियो । पार्टी विधान आवश्यक संशोधन र परिमार्जनका लागि विधान मस्यौदा समितिले पेस गरेको संशोधन र परिमार्जनका बुँदाहरु महासमिति बैठकले पारित गर्नुपर्छ ।

विधान संशोधन मस्यौदा समितिले आफ्नो कार्यविधि आफैं तयार गरी लागू गर्नेछ । समितिका संयोजकले आवश्यक्ताअनुसार विभिन्न व्यक्ति तथा संस्थालाई आफ्नो समितिमा आमन्त्रण पनि गर्न सक्नेछन् । सभापति देउवाले गठन गर्नुभएको मस्यौदा समितिको अनुमोदन गर्न आज शुक्रवार केन्द्रीय समिति बैठक पनि बस्दै छ । केन्द्रीय समिति बैठकले महासमिति बैठकको मिति र स्थान तोक्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । नेपाल समाचारपत्रमा खबर छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!