विप्लवका प्रवक्ता प्रकाण्डलाई छाड्न सर्वोच्चको आदेश

काठमाडौं, भदौ ७ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व नेपाल कम्युनिष्ट (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीश केदारप्रसाद चालिसे र पुरुषोतम भण्डारीको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरण रिटमा बिहीबार सुनुवाई गर्दै सर्वोच्चका रजिष्ट्रारकाे रोहबरमा प्रवक्ता प्रकाण्डलाई छाड्न आदेश दिएको हो ।

काठमाडौंबाट साउन २२ गते पक्राउ परेका प्रकाण्डलाई बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सर्वोच्चले गएको शुक्रबार रिहा गर्न आदेश दिए लगत्तै फेरि प्रहरीले पक्राउ गरी काभ्रे पुर्याएको थियो ।

केही समय अघि काभ्रेको एक क्रसर उद्योगमा भएकाे आगजनीमा उनको संलग्नता रहेको प्रहरीको दाबी छ ।

त्यसपछि गएको सोमबार काभ्रे जिल्ला अदालतले तीन दिन थुनुवामा राखि थप अनुसन्धान गर्न प्रहरीलाई समय दिएको थियो ।

तर उनका भाईले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको अर्को रिटमा बिहीबार सुनुवाई गर्दै छाड्न अदालतले आदेश दिएको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!