कञ्चनपुर घटनामा यस्तो आयो राप्रपाको धारणा

धनगढी, भदौ ७ । राष्ट्रिय प्रजातन्त्र पार्टी ७ नम्बर प्रदेश समितिले निर्मला हत्याकाण्ड र कञ्चनपुरमा विकसित अवस्थाबारे आफ्नो अधिकारिक धारणा सार्वजनिक गरेको छ । पार्टीका प्रदेश प्रवक्ता हेमबाबु लेखकले बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै ‘प्रहरी वास्तविक अनुसन्धानबाट पन्छिन’ खोजेको बताएका छन् ।

विज्ञप्तिमा पछिल्लो साउन १० गते भएको निर्मला पन्तको पाशविक बलात्कारपछिको क्रुर हत्याले स्तब्ध जिल्लाबासीलाई भ्रमित पार्ने उद्देश्यका साथ स्थानीय प्रशासन लागिपर्नु चिन्ताजनक रहेको बताइएको छ ।

विज्ञप्तिमा प्रहरीले उक्त घटनाका दोषी भनी सार्वजनिक गरेका मानसिक सन्तुलन बिग्रेका बिष्टको गिरफ्तारीप्रति पीडितका आफन्तजन र आम नागरिक आश्वस्त हुन नसकेको र प्रहरी वास्तविक अनुसन्धानबाट पन्छिदै घटनाको वास्तविकता लुकाउन खोजेकाप्रति शान्तिपूर्ण रूपमा आन्दोलनरत आम नागरिकलाई लक्षित गर्दै गोली प्रहार हुनु दुखद रहेको उल्लेख छ ।

विज्ञप्तिमा अवस्थाले यस्तो विकराल रुप लिइसक्दा पनि मौन रहेका कञ्चनपुरका जनप्रतिनिधि र सरकारको उदासीनताले चिन्तित तुल्याएको उल्लेख छ ।

साथै विज्ञप्तिमा सरकारलाई शीघ्र उच्चस्तरीय छानबिन आयोग गठन गरी पीडित परिवारजन र आन्दोलित जनताको माग सम्बोधन गरी स्वर्गीय निर्मलालाई न्याय दिलाई शान्ति र सुरक्षाको प्रत्याभूति गराउन आग्रह गरिएको छ ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!