भीमदत्तनगरमा चर्कियो आन्दोलन, बम परिवारमाथि आक्रमणको प्रयास, दर्जनौं राउण्ड अश्रुग्यास प्रहार (भिडियो)

 

भीमदत्तनगर, भदौ, ५ । निर्मला हत्याकाण्डको निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै थालिएको आन्दोलन झनै उग्र भएको छ ।

प्रहरीले उक्त घटनाको एकमात्र अभियुक्त भन्दै मानसिक रुपमा असन्तुलित दिलिपसिंह बिष्टलाई सार्वजनिक गरेपछि सुरु भएको आन्दोलन आज झन् उग्र भएको छ ।

आन्दोलनकारीले महेन्द्रनगर सहर क्षेत्रका ठाउँ–ठाउँमा प्रदर्शन गर्दै टायर बालर विरोध गरिरहेका छन् ।

बिहानबाट सुरु भएको आन्दोलन अहिले भगतपुर क्षेत्रमा केन्द्रित भएको छ । भगतपुरमा निर्मला पढ्न गएको भनिएको रोशनी बमको घर रहेको छ ।

आन्दोलनकारीले निर्मला पढ्न गएको बम दिदीबहिनीको घरमा आक्रमणको प्रयास गरिरहेका बताइएको छ । प्रहरीले आन्दोलनकारीलाई तितरबितर गर्न दर्जनौं राउण्ड अश्रुग्यास प्रहार गरेको छ । बमको घरभन्दा तीन सय मिटर टाढासम्म हजारौं आन्दोलनकारी एकीकृत भएका छन् । उनीहरुले प्रहरीमाथि ढुंगा बर्साइरहेका छन् ।

स्थानीय दैनिक मानसखण्डका अनुसार यसअघि बिहानैदेखि आन्दोलनकारी बजारका चोक–चोकमा भेला भएर टायर बाल्दै प्रदर्शन गरेका थिए । उनीहरुले जिल्ला प्रशासन कार्यालय, सीडीओ निवास, वडा प्रहरी कार्यालयले घेराउ गरेका थिए ।

आज दोस्रो दिन पनि व्यापारी, उद्यमी स्वस्फूर्त बन्दमा उत्रिका छन् । सार्वजनिक यातायात पनि ठप्प छ । विद्यालय, सरकारी कार्यालय र बैंक पनि खुलेका छैनन् ।

गाउँ–गाउँबाट आएका आन्दोलनकारी नेतृत्वविहीन छन् । समूह–समूहमा बाँडिएका उनीहरु आ–आफ्नै तरिकाले आन्दोलनरत छन् ।

आन्दोलनकारी नेतृत्वविहीन हुँदा प्रमुख जिल्ला अधिकारीलाई वार्ता गर्न र समाधान खोज्न समेत समस्या भएको छ । सीडीओ कुमारबहादुर खड्काले आन्दोलनको नेतृत्व नहुँदा परिस्थिति नियन्त्रणबाहिर गएको स्वीकार गरेका छन् ।

आन्दोलनकारीले एसपी डिल्लीराज विष्ट र डीएसपी ज्ञानबहादुर सेटीलाई निलम्बन गरी सीआइबीको टोली तत्काल फिर्ता बोलाउन नाराजुलुस मार्फत माग गरिरहेका छन् ।

हेर्नुस भिडियो:

(भिडियो भीमराज जोशीको फेसबुकबाट साभार)

कमेन्ट गर्नुहोस्

error: Content is protected !!