छोराछोरी विद्यालय नपठाउने अभिभावकलाई पनि अब कारबाहीः शिक्षामन्त्री पोखरेल

महोत्तरी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बालबालिकालाई विद्यालय भर्ना नगर्ने अभिभावकलाई पनि कारबाही हुने बताएका छन् ।

महोत्तरीको बर्दिबासमा विद्यार्थी भर्ना तथा साक्षरता अभिवृद्धि बिषयक एक दिवशीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले जारी भएको नयाँ ऐनमा विद्यालयमा आफ्ना बालबालिका भर्ना नगर्ने अभिभावकलाई कारबाही हुने व्यवस्था रहेको बताए । उनले सबै अभिभावकलाई आफ्ना बालबालिकालाई अनिवार्य रुपमा विद्यालय पठाउन आग्रह गरे ।

२०८६ पछि आधारभूत शिक्षा नलिएको व्यक्तिले राज्यबाट कुनै सुबिधा नपाउने हुँदा आजैबाट सबै बालबालिकालाई विद्यालयको पहुँचमा पु¥याउन आवश्यक रहेको मन्त्री पोखरेलले स्पष्ट पारे । स्थानीय सरकार शक्तिशाली भए मात्र भर्ना अभियान सफल हुने भन्दै उनले स्थानीय तहका जनप्रतिनिधिले भर्ना अभियानलाई विशेष रुपमा लिनु पर्ने बताए ।

उनले अझैं पनि मुसहर, डोम र दलित बालबालिकाहरुलाइ विद्यालयसम्म ल्याउन नसकिएको अवस्थ रहेको उल्लेख गरे । मन्त्री पोखरेलले सबै जातजाती, भाषाका बालबालिकालाई विद्यालयको पहुँमा ल्याउन असाधारण अभियान चलाउन जरुरी बताए । उनले सरकारी विद्यालयलाई कसरी गुणस्तरीय शिक्षा दिने बनाउन सकिन्छ भन्नेमा सबै गम्भीर हुनुपर्ने बताए ।

मन्त्री पोखरेलले आफू निजी विद्यालयको पक्षमा नरहेको जनाउँदै जनशक्तिको अभाव भयो भन्दैमा शिक्षाको गुणस्तरमा सम्झौता गर्न नसक्ने स्पष्ट पारे । यसका लागि विशेष अभियान चलाउनु आवश्यक रहेको उनको भनाइ छ ।

उनले भने, ‘महोत्तरी शिक्षामा कर्णाली भन्दा पछाडी परेको छ । विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय ल्याउने मात्रै होइन टिकाउने अभियान पनि चलाउनुस । अनुगमन र कार्यान्वयन गर्ने दायित्व स्थानीय सरकारको हो ।’

उनले पहिले वडा, गाउपालिका र नगरपालिकाहरु साक्षर भएको घोषणा गर्न निर्देशन दिए । केन्द्र सरकारको मुल जोड स्थानीय सरकारलार्इ बलियो बनाउनु रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले साक्षर नेपाल घोषणा अभियान सफल बनाउन सबैमा अपिल गरे । प्राविधिक शिक्षा अनिवार्य भइसकेको बताउदै मन्त्री पोखरेलले श्रम, सीप र उत्पादनलाई समृद्धीसँग जोड्नु पर्नेमा बताए ।

मध्यमाञ्चलका क्षेत्रीय शिक्षा निर्देशक दिनेशकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा निर्देशक नागेन्द्र रेग्मी, महोत्तरी जिल्लाका नगरप्रमुख, गाउँपालिका प्रमुख, शिक्षा सङ्ग सम्बन्धित कार्यालयका प्रमुखहरु, श्रोत व्यक्ति, शिक्षाको कर्मचारीहरु, बिधालयका प्रधानाध्यापकहरु, अभिभावक र सामाजिक व्यक्तिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम शिक्षा तथा मानव श्रोत विकास केन्द्रको आयोजना र स्थानीय संयोजन जय गोविन्द शाह अध्ययन केन्द्रले गरेको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!