शंकैशंकामा प्रहरी प्रतिवेदनः २५ दिनपछि अकस्मात हत्यास्थलमा कसरी पुगे अभियुक्त बिष्ट ?

महेन्द्रनगर, भदौ ५ । गत साउन १० गते हत्या गरिएकी निर्मला पन्त हत्याकाण्डमा प्रहरीले सार्वजनिक गरेका अभियुक्त नक्कली भएको भन्दै स्थानीयले प्रदर्शन जारी राखेका छन् ।

प्रहरी प्रतिवेदनमा यसअघि भएका अनुसन्धानलाई वेवास्ता गरिएको तथ्य स्पष्टरुपमा देखिएका छन् ।

सबैभन्दा ठूलो आशंका भनेको अभियुक्त भनेर प्रस्तुत गरिएका व्यक्ति घटनास्थलमा देखिएपछि पक्राऊ गरिएको भन्ने प्रतिवेदनले निम्त्याएको छ ।

प्रश्न उठ्छ– प्रहरीले अनुसन्धान व्यापक गरेको बेला २५ दिनपछि एकाएक अभियुक्त घटनास्थलमा कसरी पुगे ? जेलबाट छुटेका अभियुक्तको निगरानी क्रममा सादा पोशाकमा रहेका प्रहरीले शंकाष्पद लागेर सोधपुछ गर्दा लट्ठी छोडेर भाग्न खोजेको भन्ने प्रहरी प्रतिवेदनमा उल्लेख छ । जबकि प्रहरीले २५ दिनसम्म उनलाई निगरानी किन गरेको थिएन ? अकस्मात संयोगवश उनी भेटिएको भन्ने प्रतिवेदनको बुँदामा विश्वास गर्ने ठाउँ देखिन्न । जबकि यसअघि नै प्रहरीले ती व्यक्तिका नाममा किटानी जाहेरी दिन मृतक निर्मलाका बुवालाई दबाब दिएको कुरा सार्वजनिक भइसकेको छ ।

अर्को कुरा, यदि उनी घटनास्थलमा नपुगेको भए उनलाई प्रहरीले समात्न सक्थ्यो या सक्दैनथ्यो ? निगरानी गर्ने कुरा त यसअघि पनि भएको थियो होला, भएको थिएन भने त्यही दिनमात्रै उनको निगरानी भएको हो ? प्रहरीले यत्तिका दिनसम्म गरेको अनुसन्धान र पत्ता लागेको सूत्रहरु किन सार्वजनिक गरिएनन् ।

पीडित पन्तका बुवालाई यसअघि नै बागफाटाका एकजना व्यक्तिका नाममा किटानी जाहेरी दिन दबाब दिइनु र एकाएक ती व्यक्ति घटनास्थलमा पुग्नुका पछाडि कुनै संयोग छ या छैन ?

यी केही प्रश्नहरु छन, जसको जवाफ प्रहरीको प्रतिवेदनले दिँदैन ।

स्थानीयवासीका अनुसार, सार्वजनिक गरिएका अभियुक्त दिलिपसिंह विष्ट मानसिकरुपमा सन्की (प्रहरीकै शब्दमा क्रेजी) व्यक्ति हुन । उनले प्रहरीलाई दिएको बयानमा साइकलको चेन बिग्रेको अवस्थामा भेटिएकी निर्मलालाई बलात्कार गरी हत्या गरेको बताएको दावी गरेको छ । तर हत्या गरेपछि निज दिलिप सिंह कसरी भागे ? यत्तिका दिनसम्म उनको व्यवहार के थियो र उनी एकाएक घटनास्थलमा किन पुगे भन्ने कुरा प्रहरीले सार्वजनिक गरेको छैन ।

यसअघि निर्मलाको परिवारका सदस्यले उनी पढ्न गएको साथीको घरमा निर्मलालाई खोज्न जाँदा निकै रुखो व्यवहार गरेको कुरा सार्वजनिक भएको थियो । निजहरुलाई प्रहरीलाई शुरुमा सोधपुछ गरेर छोडेको थियो । प्रहरीले अनुन्धान त्यहीँबाट शुरु गर्नुपथ्र्यो । उनीहरुले हत्याजस्तो संवेदनशील विषयमा त्यसरी रुखो व्यवहार किन प्रकट गरे ? भन्ने कुरातर्फ ध्यान दिनुपथ्र्यो ।

अहिले प्रहरीले प्रस्तुत गरेको अभियोजन हेर्दा हत्याको कुनै ‘मोटिभ’ देखिँदैन । एकजना सनकी मान्छेले एकजना युवतीलाई बाटोमा देख्छ, अनि उखु खेतमा लगेर जान्छ र बलात्कार गर्छ, मार्छ अनि भाग्छ, २५ दिनपछि त्यो व्यक्ति त्यही ठाउँमा देखा पर्छ । यो अपत्यारिलो कुरा हो । क्रेजी र सनकी मान्छे नै थियो भने निर्मला भागेको या बलात्कार अघि संघर्ष गरेको कुनै विस्तृत विवरण प्रहरी प्रतिवेदनले सार्वजनिक गरेको छैन ।

अझ केही मिडियामा प्रकाशित समाचार अनुसार, साइकलको चेन बिग्रेको बेला निज अभियुक्तले निर्मलालाई देखेपछि बलात्कार गरेको उल्लेख छ । यता प्रहरी प्रतिवेदनमा भने निर्मलाको साइकल त्यसअघि नै बिग्रेको र उनी हातमा कालो लागेकै अवस्थामा साथीको घरमा पुगेकी छिन् । त्यहाँ उनले हात धोएकी छिन् । फर्केर आउँदा फेरी त्यही स्थानमा साइकल कसरी बिग्रिन सक्छ ?

अर्कोतर्फ प्रहरी प्रतिवेदनमा उल्लेख भए अनुसार, निर्मलासँग भएका अम्बा र अन्य सामानहरु कुन अवस्थामा भेटिएका थिए ? यदि बलात्कारको संघर्ष भएको भए अन्य निशान पानीले मेटाउने अवस्थामा पनि उनीसँग भएका सामानहरु कुन अवस्थामा कहाँ फालिएका थिए रु त्यसबाट समेत केही नयाँ कुरा पत्ता लगाउन सकिन्थ्यो । त्यसैले दिलिप विष्ट नै वास्तविक हत्यारा भएको अवस्थामा समेत यी प्रश्नहरुको उत्तर नदिएसम्म यो हत्याकाण्डमा प्रहरीले सार्वजनिक गरेको कुरालाई पूर्णरुपमा विश्वास गर्न सकिँदैन ।

प्रहरीले अनुसन्धानको क्रममा प्रस्तुत गरेका केही तथ्यहरू पत्यारलाग्दा देखिएनन्। जस्तो कि प्रहरी विवरणमा ‘ अभियुक्त बिष्ट भदौ ३ गते अन्दाजी राती अाठ बजेको समयमा उक्त घटनास्थल नजिकै साइकल भेटिएको स्थानबाट करीब ५० मिटर पश्चिम तर्फ सडक किनारामा हातमा लठ्ठीलिई उभिरहेको अवस्थामा खटिएका सादा पोशाकका प्रहरीले फेलापारी शंकास्पद लागी सोधपुछ गर्न खोज्दा हामी प्रहरी हौं भनी परिचय दिएपश्चात लठ्ठी फाली भाग्नखोज्दा नियनत्रणमा लिईएकोऽ,” भनिएको छ। तर एउटा “सनकी” भनिएको मानिस लट्ठी समातेरै सडक किनारामा उभिँदा ऊ अपराधी रहेको रहेको पुष्ट्याइं कुन अपराध शास्त्रले गर्दछ ?

अर्को कुरा अभियुक्त मानसिक अवस्था ठीक नभएको भन्ने सुन्नमा आएको छ । यसरी मानसिक अवस्था दुरुस्त नभएको व्यक्तिले पक्कै पनि घटनास्थलमा आफ्नो उपस्थितिका प्रमाण मेटाएन होला । प्रहरीले त्यस्तो के सूत्र फेला पारेको थियो जसले प्रहरी निज अभियुक्त नै दोषी रहेको निष्कर्षमा पुग्योरु यी यावत् प्रश्नहरू अनुत्तरित नै छन् ।

प्रहरीले घटनाका सम्पूर्ण कडीहरु जोडेर प्रतिवेदन सार्वजनिक गर्नुपर्छ । दिलिप विष्टका बारेमा मात्रै उसको बानी व्यहोरा जसरी प्रस्तुत गरिएको छ, त्यही अनुसार, घटनाको उद्देश्य, के कसरीलगायतका विषयहरु गम्भीररुपमा प्रस्तुत गर्नुपर्छ । यो नहुँदा सम्म प्रहरीले अघि सारेको प्रतिवेदनलाई विश्वास गर्ने आधार नहुने र प्रहरीले नै वास्तविक हत्यारालाई लुकाउन खोजेको आरोपबाट मुक्त हुने ठाउँ देखिँदैन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!