साइकल चलाएरै अस्पताल भर्ना भइन् यो देशकी गर्भवती मन्त्री

वेलिङ्टन, भदौ ४ । हामी कहाँ जनप्रतिनिधि भनेपछि सान नै फरक छ । रवाफिलो र तडकभडकपूर्ण व्यवहार एवं रहन सहन जनप्रतिनिधिका लागि आम हो।

अर्को शब्दमा भन्दा जनताले चुनावमा जिताएर पठाइदिएपछि आफूलाई कुनै चक्रवर्ती सम्राट नै ठान्ने आम नेपाली जनप्रतिनिधिको लक्षण हो।

तर नेपालभन्दा निकै राम्रो आर्थिक हैसियत भएको र मानव विकास सूचकांकका दृष्टिले हेर्ने हो भने विश्वकै शीर्षस्थ मध्ये एक कुनै देशकी एकजना मन्त्री आफैं साइकल चलाएर अस्पताल भर्ना हुन्छिन् र बच्चा जन्माउँछिन् भन्दा यो कुरा हामीलाई अपत्यारिलो लाग्न सक्छ तर यो सत्य हो।

न्यूजिल्यान्डकी महिला मन्त्री जुली आन गेन्टर पहिलो बच्चा जन्माउने क्रममा प्रसूतिका लागि आफैंले साइकल चलाएर अस्पताल भर्ना भएकी छिन् ।

वाम झुकाव भएकाे दल ग्रीन पार्टीकी सांसद गेन्टर साइकलबाट घरदेखि एक किलोमिटर टाढाको अकल्यान्ड सिटी अस्पतालसम्म यात्रा गरी प्रसूतिका लागि भर्ना भएकी हुन् ।

“मेरा पति र म साइकलबाटै अस्पताल आएका थियौं, तर मलाई कुनै अप्ठ्यारो भएन,” साइकलको तस्वीर सहित सामाजिक सञ्जालमा उनले लेखेकी छिन् ।

न्यूजिल्यान्ड सरकारको महिला मन्त्रालयसँगै यातायात मन्त्रालयको समेत कार्यभार सम्हालेकी गेन्टर अहिले ४२ हप्ताकी गर्भवती छिन् ।
मन्त्री गेन्टर दिगो यात्राका अभियन्ता पनि हुन् । ग्रीन पार्टीकी एक प्रवक्ताले दिएको जानकारी अनुसार सोमबार बिहानसम्म पनि उनले बच्चा पाएकी छैनन्।

गत जुनमा मात्र न्यूजिल्यान्डकी प्रधानमन्त्री जासिन्डा आर्डेन प्रसूति बिदापछि नियमित काममा फर्केकी थिइन्।

गत वर्ष निर्वाचित आर्डेन पदमै रहँदा बच्चा जन्माउने विश्वमै दोस्रो वरिष्ठ कार्यकारी भएकी थिइन् । विगतमा सन् १९९० मा पाकिस्तानी पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोले पदमै रहँदा बच्चा जन्माएकी थिइन् ।

एजेन्सीहरू

कमेन्ट गर्नुहोस्

error: Content is protected !!