कर वृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेकोमा सांसदकाे आपत्ति

काठमाडौँ, भदौ ४। प्रतिनिधिसभाका सांसदहरूले देशभरि नै स्थानीय तहहरूले थेग्नै नसक्ने गरेर कर बढाउँदा जनतालाई ठुलो मार परेको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले स्थानीय तहहरूले मनोमानी कर वृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेकोमा आपत्ति जनाएका छन् ।

संविधानमा नै स्थानीय तहले कर लगाउन सक्ने व्यवस्था भएपनि कुन क्षेत्रमा कस्तो कर लगाउने भन्ने विचार नै नगरी हचुवाको भरमा गरिएका करारोपण सम्बन्धी निर्णयहरूले जनतालाई ठुलो मर्का परेको गुनासो उनीहरूको थियो।

करका विषयमा देशव्यापी रुपमा विरोध र आलोचना भएकाले तत्काल यस विषयमा स्पष्ट निर्देशन दिन सांसदहरूले सरकारसंग आग्रह गरेका छन् । जनताले तिर्न नसक्ने र क्षेत्राधिकार नै नभएका विषयमा समेत कर लगाएर सङ्घीय शासन प्रणालीमा नै आँच आउने काम नगराउन सांसदहरूले सदन र सरकारको ध्यानकर्षण समेत गराए ।

यसरी ध्यानाकर्षण गराउने सांसदहरूमा अमरेशकुमार सिंह, उमेश श्रेष्ठ लगायत थिए ।

सांसद गगन थापाले विकासको रोमाञ्चक यात्रा विनाशमा गएर नटुङ्गियोस् भन्दै भौतिक पूर्वाधार निर्माण गर्दा विशेष ख्याल गर्न आग्रह गरे भने सांसद आशाकुमारी विक, कृष्णभक्त पोखरेलले पनि समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!